कैलालीमा जल्यो कोमाकी स्कुटर, पार्टस् माग्दा पागल भन्दै कम्पनीले गर्‍यो ब्लक

काठमाडौं । नेपालमा नै इलेक्ट्रीक स्कुटरमा आगो लागेको घटना बाहिर नल्याउन ग्राहकलाई कोमाकीले ठूलै दवाव दिएको तथ्य सार्वजनिक भएको छ । भारतमा उत्पादीत कोमाकी इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक बिक्रेता यूनिटी ट्रेडिङले उक्त घटना दवाउन खोजेको हो ।

कैलाली घर भएको हिमाल आर्चायले बालुवाटार शोरुमबाट किनेर कैलालीमा नै चलाउँदै आएको कोमाकी एसइी स्कुटरमा आगो लागेको घटना ६ महिनापछि बाहिर आएको हो ।

स्कुटरमा समस्या आएपछि सुरुमा सर्भिस सेन्टरमा लगिएको स्कुटर बनाएपछि नयाँ समस्या देखिएको थियो । स्कुटरको स्पीड आफैँ बढ्ने र घट्ने भइरहेको उपभोक्ताले बताएका छन् ।

‘नाडा अटो शोको दोस्रो दिन (भदौ २७ गते) मेरो आमाले चलाउनु भएको स्कुटरमा आगो लागेको हो । पछाडि मोटरबाट लागेको आगो नियत्रणमा आएका कारण ठूलो क्षती नभएपनि स्कुटरको पार्टस् तथा सर्भिस नदिएर उल्टै कम्पनीले घटना बाहिर नल्याउन दवाव दिएको हो’ हिमाल आर्चायले मेरोअटोसँग भने ।

आगो लागेको घटना लगत्तै धनगढी शोरुमलाई जानकारी गराएको र धनगढी शोरुमले हामीले बेचेको होइन काठमाडौं नै खबर गर्न भन्दै गैह्रजिम्बेवार पूर्ण जवाफ दिएको आचार्यले जानकारी दिए ।

‘धेरैनै समय लगभग २ महिना लगाएर कम्पनीले स्कुटर चल्ने बनाइ दियो । तर, स्कुटरको फ्रन्ट ब्रेक, साइड लाइट, स्याण्ड जस्ता पार्टस् ६ महिनासम्म पनि उपलब्ध गराएन । आफुले कम्पनीको फेसबुक पेजमा पार्टसको बारेमा प्रश्न गर्दा ‘पागल’ भन्दै उल्टै ब्लक गरिदियो’ आचार्यले मेरोअटोसँग भने ।

कोमाकी ईभी नेपाल नामक पेजले ब्लक गरेसँगै उनले कोमाकी भक्तपुरमा सम्पर्क गरेर बारबार पार्टस पठाउन भनेपनि नपठाएको उनले बताए । ‘भोलि पठाउँछु भन्दा भन्दै ५ महिना बित्यो तर, पार्टस् पठाएन । मलाई पार्टस् चाहियो भन्दा मलाई नै दिमागको तार फुस्कियो कि के हो भन्दै कोमाकी भक्तपुरले पनि ब्लक गरेको छ’, उनले भने ।

नेपालमा कम गुणस्तरको स्कुटर बिक्री गर्ने गरेको भन्दै आचार्य भन्छन्, ‘म त फसे अब मलाई कम्पनीले पार्टस् दिन्छ भन्नेमा आशा छैन । म जस्ता सोझा मान्छे नफसुन भनेर नै यो घटना बाहिर ल्याइदिएको हुँ ।’

आगो लागेको घटना पश्चात् इस्योरेन्सको पेपर माग्दा समेत कम्पनीले दिएन । सुरुको इन्स्योरेन्स कम्पनीले नै गराएको थियो । माग्दा माग्दा दिएन । अहिले पनि उनले इन्स्योरेन्स पेपर नपाएको बताए ।

यस विषयमा यूनिटी ट्रेडिङका उमेश अधिकारीले समेत स्कुटरमा समस्या भएको पुष्टि गरेको छन् । उनले स्कुटरमा खराबी नभएको र स्कुटर चलाउन नजानेर समस्या भएको जिकिर गरे ।

अधिकारीले स्कुटरको पार्ट्स पठाउन ढिला भएको तर, कम्पनीले पार्टस् धनगढी डिलरमा पठाएको बताएता पनि आर्चायले भने अझैसम्म पार्टस नपाएको बताएका छन् ।


Back_to_top