इलेक्ट्रीक कारः कोना किन्ने कि निरो ? यस्ता छन् फरक

काठमाडौं । कोरियन मोटर उत्पादक कम्पनी हुन्डाई–किया ग्रुप अन्तर्गत संचालित दुई ब्रान्ड नेपाली बजारमा पनि बिक्री वितरण हुँदै आएको छ ।

नेपाली बजारमा हुन्डाईका उत्पादन लक्ष्मी इन्टरकन्टिनेन्टल्सले बिक्री वितरण गर्दै आएको छ भने कियाका उत्पादन कन्टिनेन्टल्स ट्रेडिङले बिक्री गरिरहेको छ ।

अहिले यी दुबै कम्पनीले नेपालमा इलेक्ट्रीक कार ल्याएर चर्चा बटुली रहेका छन् । हुन्डाईले कोना इलेक्ट्रीक र कियाले निरो इलेक्ट्रीक बिक्री गरिरहेका हुन् ।

नेपाली बजारमा हुन्डाईको कोनामा ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवरको व्याट्री अप्सनमा उपलब्ध छ । कियाको निरो भने ६४ किलोवाट आवर भएको व्याट्री अप्सनमा मात्र रहेको छ ।

यहाँ हामीले ६४ किलोवाट आवर व्याट्री पावर भएका गाडीको बीचमा रहेका भिन्नता केलाउने प्रयास गरेका छौं । यी दुवै क्रसओभर गाडी हुन् । 

यी गाडीमा लगाइएको व्याट्रीले एक पटकको फुल चार्जमा ४५० किलोमिटर भन्दा माथि रेञ्ज प्रदान गर्ने कम्पनीले दाबी गर्दै आएका छन् । दुबैमा १५० किलोवाटकाे माेटर दिइएको छ, जसले २०४ पीएस पावर र ३९५ एनएम टर्क जेनेरेट गर्छ ।

दुबै गाडीको टप स्पीड १७० किलोमिटर प्रतिघन्टाको रहेको छ ।

डायमेनसन

किया निरो होन्डाई कोनाभन्दा १९५ एमएम लामो रहेको छ । ह्वील बेसमा पनि निरो १०० एमएम बढी भएको क्रसओभर कार हो । लम्बाइकै कारण निरोको बुट स्पेस कोनाको भन्दा केही बढि रहेको छ । 

दुबै कारको उचाई भने समान रहेको छ । ग्राउण्ड क्लियरेन्समा कोना ३ एमएमले निरोभन्दा अगाडि रहेको छ ।

इन्टेरियर

इन्टेरियरको कुरा गर्दा कियाको निरोमा अगाडि र पछाडि बस्ने यात्रीलाई केही बढि लेगरुम तथा हेडरुम मिल्ने छ । यद्यपी, कोनाको क्याविनमा निरोको दाँजोमा केही नयाँपन भेट्टाउन सकिन्छ । 

कोनाको ड्यासबोर्डमा प्रयोग भएको इन्फोटेन्मेन्ट सिस्टम निरोभन्दा केही सानो भएपनि फ्लटिङ्ग भएकाले ड्यासबोर्ड कोनाको उत्कुष्ट देखिन्छ । दुबै क्रसओभरमा डिजिटल ओडोमिटरको प्रयोग गरिएको छ ।

एक्सटेरियर

किया निरोको आउटलुक परम्परागत अन्य कारहरु जस्तो रहेको छ भने, हुन्डाई कोनामा अगाडिको हेडल्याम्प र पछाडिको टेलल्याम्पहरु स्प्रिट तथा एलइडी रहेकोले ट्रेन्डी देखिएको छ ।

निरोको तुलनामा कोनामा प्रयोग भएका कलर फरक रहेकोले सडकमा कोनाले धेरैको ध्यान खिच्न सफल हुने छन् । किया निरोमा सनरुफलगायतका फिचर पाउन सकिन्छ जुन कोनामा छैन । 

मूल्य

समान व्याट्री पावर तथा इलेक्ट्रीक मोटर भएका यी दुई क्रसओभर कारको मूल्यमा केही फरक रहेको छ । अहिले नेपाली बजारमा निरोको मूल्य ६६ लाख ९० हजार रहेको छ । 

हुन्डाईले कोनाको मूल्य भने ६५ लाख ९६ हजार रुपैयाँ राखेको छ । यसरी हेर्दा निरोको तुलनामा कोना केही सस्तो छ ।


Back_to_top