३ वर्षमा बन्नुपर्ने पुल १५ वर्षमा पनि बनेन, अझै बन्ने छैन टुंगो

काठमाडौं । नेपालमा अधिकांश विकास आयोजना समयमै सम्पन्न नहुने रोगबाट ग्रसित छन् । २/३ वर्षमै सम्पन्न हुने काम पनि दशकौंसम्म पूरा नभएका सयौं उदाहरण छन् ।

तिनै मध्येको एक हो भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल । स्वच्छन्द निर्माण कम्पनीले वि.सं. २०६७ मा निर्माण थालिएको यो पुल हालसम्म निर्माण हुन सकेको छैन ।

ठेक्का सम्झौता अनुसार उक्त पुल २०७० सालमा सम्पन्न भइसक्नु पर्ने थियो । तर, प्राविधिक त्रुटी र ठेकेदारको ढिलासुस्तीका कारण १५ वर्षदेखि अलपत्र परेको हो ।

पुल निर्माणका लागि ६ वटा पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन। हालसम्म झण्डै ४ करोड रुपैयाँ खर्च भइसकेको छ । पटक पटक ताकेता गर्दा पनि काम नगरेपछि २०७९ सालमा ठेक्का सम्झौता रद्द गरिएको थियो भने अझै नयाँ ठेक्का लागेको छैन ।

सुरुमा १६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो। पछि १२ मिटर बढाएर १७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो। प्राविधिकले डिजाइन गरे भन्दा करिब ७२ मिटर छोटो रहेको पाइएको छ ।

१५ वर्षसम्म पनि अलपत्र अवस्थामा रहेपछि पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केले लम्सुवाघाट पुल निर्माणको काम लामो समयदेखि अलपत्र रहेको बताए ।

उनले राज्यको ४ करोड रुपैयाँ खर्च भइसकेपछि काम अलपत्र पारिएको बताए । १५ वर्षदेखि पुल बन्ने आशामा रहेको स्थानीय निराश बनेको उनको भनाइ छ ।

यहाँ १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी बताउँछन् । पक्की पुल नहुँदा आवतजावतमा समस्या भोगिरहेका छन् ।

२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुङ्गाबाट यात्रा गर्न बाध्य छन्।


Back_to_top