काठमाडौं । तपाईं स्कुटर चलाउनु हुन्छ भने थोरै समय चलाउँदा पनि ज्यान दुखेको महसुुस गर्नुभएको छ ? धेरैले स्कुटर चलाएपछि ज्यान दुख्छ भन्ने गरेको हामी पाउँछौं ।
करिब ५/६ घण्टा मोटरसाइकल चलाएको जत्तिको थकान केबल २/३ घण्टा स्कुटर चलाउँदा महसुस गर्ने धेरै भेटिन्छन् । सहरी क्षेत्रमा सहज रूपमा प्रयोग गर्न सकिने र पाको उमेर भएकाले पनि छोटो दुरी यात्रा गर्न स्कुटर निकै उपयोगी मानिन्छ ।
चलाउन सजिलो हुन्छ भनेर केही पाको उमेर र केही युवा पनि स्कुटरमा यात्रा गर्ने गरेको पाइन्छ । तर, उनीहरूले लामो बाटो यात्रा गरेको कारण थकान भएको भन्छन् । स्कुटर चढ्दा थकान भएको भन्ने ठम्याउन सकेका हुँदैनन् ।
त्यसैले मोटरसाइकल चलाउँदाको तुलनामा स्कुटर चलाउँदा किन शरीरका अंगहरू दुख्छन् । र, धेरै थकान महसुस हुन्छ भन्ने बारेमा चर्चा गरेका गर्दैछौं ।
सहरी क्षेत्रलाई लक्षित गरेर निर्माण गरिएको यस्ता स्कुटर नेपाल जस्तो खराब सडक भएको ठाँउमा चलाउँदा राम्रो प्रदर्शन आउने कुरै हुँदैन । स्कुटरमा प्रयोग भएको सस्पेन्सन, टायर साइज, ह्वीलबेस, बडी वेट जस्ता कारण धेरै मानिसले थकान महसुस गर्छन् ।
साधारणतया सबैजसो स्कुटरहरू एकै डिजाइनमा तयार भएका हुन्छ । यी स्कुटरहरूको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र पछाडि सिंगल/डबल साइडेड स्प्रिङ सस्पेन्सन प्रयोग भएको हुन्छ ।
सस्पेन्सन
स्कुटरको साइज नै सानो हुने कारण यसको सस्पेन्सन सेटअप एकदमै बेसिक हुन्छ । माथि भने जस्तै टेलिस्कोपिक सस्पेन्सन र सिंगल/डबल साइडेड स्प्रिङ सस्पेन्सनको ट्राभल एकदमै कम हुने भएको कारण थोरै पनि खराब सडकमा राम्रो पर्फमेन्स गर्न सक्दैन । त्यसैले स्कुटर चलाउँदा उफ्रेको महसुस हुन्छ । यसले शरीरमा थकाइक महुसस मात्र हुँदैन यसले शरीरका मांसपेशी तथा जोर्नीहरूमै असर पुर्याउँछ ।
स्कुटर सहर केन्द्रित साधन हो । यसमा लामो हाइवे यात्रा गर्नु भनेको शरीरमा अर्को रोग भित्र्याउनु सरह हो ।
सानो ह्वील साइज
स्कुटरमा प्रायःजसो १०/१२ इन्चको ह्वील प्रयोग हुन्छ । सानो ह्वीलले सडकमा हुने बम्पको झड्का एब्र्जव गर्न कठिन हुन्छ । त्यसैले खाल्डाखुल्डी भएको बाटोमा स्कुटर चलाउनु स्वास्थ्यको हिसाबले खराब हुन्छ ।
पछाडिको तौल धेरै हुनु
सबै स्कुटरहरूको तौल पछाडिको भागमा धेरै हुन्छ । यसको इन्जिनभार पछाडि हुने कारण तौल पनि पछाडि नै धेरै हुन गएको हो । पछाडिको भारले सस्पेन्सनलाई थप कडा बनाउँछ । अझै, पछाडिको सिटमा यात्रु राखेर चलाउनु भएको छ भने थप समस्या आउन सक्छ ।
फ्रेम/ह्वीलबेस
स्कुटरहरू ‘स्टेप थ्रू फ्रेम’मा बन्नछन् । यसले स्कुटरमा लामो ट्राभल सस्पेन्सन राख्न मिल्दैन । छोटो ह्वीलबेस हुने भएको कारण स्कुटरको स्टेबिलिटी पनि मोटरसाइकलको जस्तो राम्रो हुँदैन ।
मुख्यतया माथि उल्लेख भएका कारण स्कुटरमा यात्रा गर्दा शरीरमा थकाइका साथै स्वास्थ्यमा पनि असर पर्न जान्छ । सहरी चिल्ला सडकका लागि तयार पारिएको स्कुटरहरू नेपालको खराब अवस्थाका सडकमा मात्र होइन, अफरोडमा समेत यात्रा गर्ने गरेको हामी पाउँछौं । त्यो राम्रो होइन ।

