काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो बिक्री बढाउने सस्तो मूल्यमा उन्नत प्रविधि भएको विद्युतीय कार बजारमा ल्याउने भएको छ । कम्पनीले लाइडार सेन्सरसहितको कम्प्याक्ट कार ए ०५ बजारमा ल्याउने भएको हो ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले लीपमोटर ए०५ लाई बिक्रीका लागि अनुमति दिन लागेका सवारीहरूको नयाँ सूचीमा समावेश गरेको छ ।
यो कारमा अगाडितिर दुईवटा बाइनोकुलर क्यामेरा र छानामाथि जडान गरिने लाइडार सेन्सर विकल्पका रूपमा उपलब्ध हुनेछ ।
यसले अटो उत्पादकहरूले पहिला महँगा गाडीमा मात्र प्रयोग गर्ने लाइडार सेन्सर अब सस्ता गाडीमा पनि प्रयोग गर्न थालेको संकेत गरेको छ ।
लीपमोटरले पनि बीवाइडीलदाई पच्छ्याउँदै सस्ता कारमा लाइडार राख्ने भएको हो । बीवाइडीले आफ्नो सबैभन्दा सस्तो कार सिगल (एटो १) मोडेलमा पनि लाइडार विकल्प थपेको थियो।

जनवरीमा सार्वजनिक गरिएको कागजात अनुसार बीवाडीको अलि महँगो डल्फिन मोडेलमा पनि लाइडार सेन्सर रहने देखाइएको थियो।
लाइडारलाई एडासको महत्त्वपूर्ण भाग मानिन्छ । जसले बाटोमा रहेका अवरोधहरूलाई पहिचान गर्ने क्षमतामा धेरै सुधार ल्याउँछ।
शुक्रबार सार्वजनिक गरिएको कागजात अनुसार नयाँ लीपमोटर ए ०५ कारको लम्बाइ ४२०० एमएम हुनेछ । यसको ह्वीलबेस २६०५ एमएमको रहने छ ।
शक्तिको हिसाबले लीपमोटर ए ०५ मा ७० किलोवाट वा ९० किलोवाट क्षमताका मोटर विकल्प उपलब्ध हुनेछन्। यसमा गोटोन हाइ टेक वा जेड इनर्जी कम्पनीका लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिनेछ।
युरोपको ठूलो अटो कम्पनी स्टेलान्टिसको सर्पोट रहेको लीपमोटर नयाँ मोडेलहरू मार्फत आफ्नो बिक्री बढाउने प्रयासमा छ।
सन् २०२६ फेब्रुअरीमा लीपमोटरको सवारी बिक्री १२.४५ प्रतिशतले घटेर २८ हजार ६७ मा सीमित भएको थियो ।
लीपमोटरले आफ्नो नयाँ एसयूभी ए १० यही मार्च २६ देखि प्रिसेल सुरू गर्ने घोषणा गरेको छ । ए १० को सबैभन्दा महँगो भेरियन्टको मूल्य १ लाख युआन (करिब साढे १४ हजार अमेरिकी डलर)भन्दा कम हुने अपेक्षा गरिएको छ।
कम्पनीले २०२६ सम्म १० लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ। कम्पनीले महँगो प्रविधि र सेन्सरहरूलाई सस्तो गाडीमा ल्याउनु बजारमा आफ्नो हिस्सा बढाउने मुख्य रणनीति मानिएको छ ।

