काठमाडौं । तपाईं पहिलोपटक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिने तयारीमा हुनुहुन्छ । हुनुहुन्छ भने तपाईंले लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गर्नुपर्छ । वर्ग थप गर्ने हो भने ट्रायल मात्र पास गरे पुग्छ ।
ट्रायल पास गरी लाइसेन्स प्राप्त भए पछि मात्रै कानुनी रूपमा सडकमा सवारी चलाउन पाइन्छ । बिना लाइसेन्स सवारी चलाउनु गैरकानुनी हो ।
सामान्यतया ट्राफिक र सडक नियम सम्बन्धी ज्ञान भएका अधिकांश व्यक्ति लिखित परीक्षामा सहजै पास हुन्छन् । तर, ट्रायलमा भने धेरै फेल हुने गरेको देखिन्छ । लिखित परीक्षा घोकेर पनि पास गर्न सकिन्छ । तर, ट्रायल पास गर्न भने तोकिएको नियमभित्र रही सवारी चलाएर देखाउनुपर्छ । जुन लिखितको तुलनामा गाह्रो मानिन्छ ।
यद्यपि, आफूले पर्याप्त तयारी गरी आत्मविश्वासका साथ ट्रायल दिन गएमा पहिलो पटकमा पनि सहजै पास गर्न सकिन्छ । यहाँ हामीले सजिलै ट्रायल पास गर्न सकिने ५ वटा उपाय बारे चर्चा गरेका छौं ।
१. पर्याप्त मात्रामा अभ्यास गर्ने
ट्रायल पास गर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको नियमित अभ्यास हो। जबसम्म तपाईंलाई आफ्नो ड्राइभिङ सीपमा पूर्ण आत्मविश्वास हुँदैन, तबसम्म ट्रायल दिन हतार नगर्नु राम्रो हुन्छ।
जति धेरै प्राक्टिस गर्नुहुन्छ, उति नै धेरै कन्फिडेन्स बढ्छ र पास हुने सम्भावना धेरै हुन्छ । सकेसम्म ड्राइभिङ इन्सिच्युटमै गएर प्राक्टिस गर्नुहोस् । किनभने त्यहाँ ट्रायल सेन्टरको जस्तै प्राक्टिस गर्ने ठाउँ बनाइएको हुन्छ । त्यहाँ सजिलै पास हुनु भयो भने ट्रायलमा पनि उत्तिर्ण हुने सम्भावना अधिक हुन्छ ।
ड्राइभिङ इन्सिच्युटमा शतप्रतिशत पास हुने गरी सिकिसकेपछि मात्र ट्रायल दिन जानुहोस् । ट्रायल सेन्टरमा पनि ट्रायल दिन केही समय प्राक्टिस गर्नुहोस् । जसले तपाईं सो ठाउँको बारेमा जानकारी हुनुका साथै कन्फिडेन्ट समेत बढाउँछ ।
२. ट्रायलको दिन समयमै पुग्ने
ट्रायलको दिन ढिलो पुग्दा तनाव बढ्न सक्छ, जसले ड्राइभिङमा पनि असर पर्छ । ढिला पुग्दा अरु फेल भएका मान्छे धेरै भेटिन्छन, त्यसले गर्दा आफ्नो हौसला पनि कम हुन्छ । त्यसकारण सुरूवातमै गएर ट्रायल लाइनमा बस्नु उपयुक्त हुन्छ ।
३. शान्त रहने, धेरै नआत्तिने
ट्रायलको डरका कारण कहिलेकाहीँ सुरूमै साना तिना गल्ती हुन सक्छन् । यदि ड्राइभिङ गर्दा धेरै तनाव महसुस भयो भने गहिरो सास लिएर आफूलाई शान्त बनाउने र ध्यान ट्रायल सेन्टरमा मात्रै केन्द्रित राख्ने र चलाउन सुरू गर्ने । ट्रायल दिन सुरू गर्नु अघि सवारी साधनको क्लच, गियर, ऐना, साइड लगायत राम्रोसँग चेकजाँच गर्नुहोस् । अनि मात्र अघि बढ्नुहहोस् ।
४. साना गल्तीबाट नडराउने
टेस्टका क्रममा साधनको इन्जिन बन्द हुनु, मोटरसाइकलको हो भने खुट्टा भुइँमा झर्नु, गल्तीले कारको वाइपर चल्नु वा पार्किङबाट निकालेर ट्रायलमा प्रवेश गर्दा गाडी अलि टेडो हुनु सामान्य कुरा नै हुन् । यस्ता साना गल्ती हुँदा नआत्तिनुहोस् । धेरै आत्तिनाले अघि बढ्दा झनै ठूलो मिस्टेक गर्ने सम्भावना बढ्छ ।
हालको व्यवस्था अनुसार ट्रायल पास हुन कम्तीमा ६० अंक ल्याउनुपर्छ । साना तिना गल्ती भए पनि केही नम्बर काटिन्छ । फेल हुँइदैन । तर, एउटै गल्ती बारम्बर दोहोर्याउँदा भने फेल भइन्छ ।
५. ट्रायलमा फेल भए पनि निराश नहुने
यदि पहिलो पटकमा ट्रायल पास भइएन भने पनि चिन्ता लिनु हुँदैन। ३ दिन पछि पुनः फर्म भरेर फेरि ट्रायल दिन सकिन्छ। तर त्यसका लागि पहिलेकोभन्दा अझै धेरै प्राक्टिस गर्ने । पर्याप्त तयारी, धैर्य र आत्मविश्वास भएमा ड्राइभिङ ट्रायल पास गर्न त्यति गाह्रो हुँदैन।

