काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड दुई साता रातिको समयमा बन्द गरिने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै उक्त सडक कालोपत्र गर्नका लागि १४ दिन बन्द गरिने जानकारी गराएको हो ।
कार्यालयका अनुसार चैत ७ गतेदेखि २० गतेसम्म ठूला चारपाँग्रे सवारी साधन (बस समेत) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म संचालनमा रोक लगाइने छ ।
त्यसैगरी, टिपर तथा ट्रक (पास लिएका समेत)लाई भने २४ घण्टै रोक लगाइएको सूचनामा उल्लेख छ।
सडक सुधार तथा कालोपत्रे कार्यलाई निर्धारित समयमा सम्पन्न गर्न र सवारी आवागमनबाट हुने अवरोध कम गर्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
कार्यालयले यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रामा निस्कनु अघि आवश्यक जानकारी लिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।


