काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी-०१’को अल ह्वील ड्राइभ मोडल तयार पारेको छ । कम्पनीले यसलाई एलईभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरु गर्ने योजना बनाएको हो ।
नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलईभी-एक्स आगामी महिना हुने नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने जानकारी दियो ।
नयाँ अल ह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी-०१ कै बडी डिजाइनमा आउने छ । बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार एलईभी-एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ । साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ ।

एलईभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दियो । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो । सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ ।

नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सका अलावा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा एलईभी-०५ समेत लन्च गर्ने योजना बनाएको छ । एलईभी-०५ नेपाली बजारमा बीवाइडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।

