काठमाडौं । चीनमा चार पाङ्ग्रे विद्युतीय कारमा प्राइस वार चलिरहेको समयमा भारतमा भने दुई पाङ्ग्रेमा प्राइस वार चलेको हो । तर, भारतमा ब्याट्री बाहेकको स्कुटरको मूल्य घटाउने प्रतिस्पर्धा सुरु भएको छ ।
भारतमा होन्डाले पहिलो पटक आफ्नो विद्युतीय स्कुटरमा ‘ब्याट्री एज अ सर्भिस’ (बास) मोडल सार्वजनिक गरेको थियो । अहिले बास मोडलमा स्कुटर बिक्री गर्नेमा होन्डा र हिरो छन् । अब एथरले पनि चाँडै यो सेवा सुरु गर्न लागेको छ ।
हिरो मोटोकर्पले हिजो भारतीय बजारमा भिडा भीएक्स-टु ‘ब्याट्री एज अ सर्भिस’ मोडलमा सार्वजनिक गरेको हो । कम्पनीले दुई अप्सनमा भीडा भी-टु बिक्री गर्ने भएको हो । ब्याट्री सहित किन्ने ग्राहकले ९९ हजार भारतीय रुपैयाँ तिरेर किन्न सक्नेछन् ।
ब्याट्री बाहेक ‘ब्याट्री एज अ सर्भिस’ लिन चाहने ग्राहकले मात्र ५९ हजार रुपैयाँमा भीडा भीएक्स २ किन्न पाउँछन् । ब्याट्री रहित स्कुटर किन्ने ग्राहकले प्रति किलोमिटर ९६ पैसा तिरेर ब्याट्री प्रयोग गर्न सक्नेछन् ।
यसरी ‘ब्याट्री एज अ सर्भिस’ मोडलमा स्कुटर किन्ने ग्राहकले साप्ताहिक वा मासिक प्याकेजमा ब्याट्री प्रयोग बापत प्रति किलोमिटर ९५ पैसा शुल्क तिर्दा पुग्छ । यसले जति गुड्यो, त्यति नै रकम खर्च गर्दा पुग्नेछ ।
‘ब्याट्री एज अ सर्भिस’ मोडलमा स्कुटर किन्दा ग्राहकले ब्याट्री लाइफको चिन्ता लिइराख्नु पर्दैन भने, सुरुवाती लागत नै ४० प्रतिशतसम्मले कम लाग्ने भएको हो ।
हिरो मोटोकर्पले सार्वजनिक गरेको नयाँ भीडा भीएक्स-टुमा २.२ किलोवाट आवर ३.४ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध छ । यसले क्रमशः ९२ किलोमिटर र १४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
भारतमा विद्युतीय दुईपाँग्रेमा प्रतिस्पर्धा बढ्दै जाँदा ‘ब्याट्री एज अ सर्भिस’ मोडलले निकै ठूलो भुमिका खेल्ने देखिन्छ । यही मोडलमा सार्वजनिक एमजी विन्डसरले भारतमा निकै राम्रौ व्यापार गर्न सफल भएको छ ।


