चार्ज हुन १० मिनेट पनि नलाग्ने सोडियम ब्याट्रीमा आउँदै नयाँ एसयूभी

काठमाडौं । चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेको लगानी रहेको आइतोले सोडियम ब्याट्री प्रयोग गरेर नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी १० मिनेटभन्दा कम समयमा चार्ज गर्न सकिन्छ ।

कम्पनीको दाबी अनुसार आइतोको नयाँ एसयूभीमा प्रयोग भएको ब्याट्रीले चार्जिङ स्पीड ‘१२सी’सम्म सपोर्ट गर्नेछ । त्यो भनेको करिब १.२ मेगावाटको चार्जर यसले सपोर्ट गर्नेछ ।

हुवावे र सेरेस मिलेर ल्याउन लागेको एसयूभीको नाम एम-सिक्स रहन सक्ने अनुमान गरिएको छ । सीएटीएलले दुई दिन अगाडि गत जुन ३० मा सेरेसको चोकिङ प्लाण्टमा दुई नयाँ ब्याट्री प्रोडक्सन लाइन थपेको थियो । उद्घाटन समारोहमा सीएटीएलले १२सी चार्जिङ सपोर्ट गर्ने ब्याट्रीको टिजर पनि सार्वजनिक गरेको थियो ।

सीएटीएलको १२सी ब्याट्रीले आफ्नो साइजको १२ गुणा बढी क्षमतामा चार्ज लिन सक्नेछ । उदाहरणका लागि यदि, १०० किलोवाट अवारको ब्याट्री गाडीमा छ भने १२०० किलोवाट (१.२ मेगावाट) सम्मको चार्जिङ स्पीड लिन सक्छ । १२सी टेक्नोलोजीले सैद्धान्तिक रूपमा ब्याट्री फुल चार्ज गर्न १० मिनेटभन्दा कम समय लाग्छ ।

१२ सी चार्जिङ क्षमता भएता पनि सीएटीएलले नयाँ सोडियम एलिमेन्ट्स ब्याट्रीको घोषणा गरे पनि यसको केमेस्ट्रीका बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन । त्यस्तै कम्पनीले आइतोको नयाँ मोडलको समेत कुनै जानकारी बाहिर ल्याएको छैन ।

हुवावे र सेरेसको संयुक्त लगानी रहेको आइतो सन् २०२१ मा लन्च भएको थियो । यी दुईको लगानीमा स्थापना भएको कम्पनीले सेरेसले विकास गरेको प्लेटफर्ममा गाडी उत्पादन गर्दै आएको छ ।

हुवावेको सफ्टवेयर रहेका आइतोका कार चिनियाँ बजारमा आइतो हार्मोनी इन्टेलिजेन्ट मोविलिटी एलायन्स (हिमा) नेटवर्क मार्फत बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भने सेरेसले सम्हाल्दै आएको छ ।


Back_to_top