काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लाग्ने सवारी साधनको वार्षिक करको दर यथावत राखेको छ ।
प्रदेश सरकारले आगामी आवको बजेट कार्यान्वयनका लागि जारी गरेको आर्थिक विधेयक २०८२ मा वार्षिक सवारी कर हेरफेर नगरी चालु आवकै दरलाई निरन्तरता दिएको हो ।
आगामी आर्थिक वर्षमा बागमती प्रदेशले पनि सवारी कर यथावत राखेको छ ।
कोशीमा आगामी वर्ष सवारी साधनको प्रकृति अनुसार न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम ७० हजार रुपैयाँसम्म तिर्नुपर्नेछ ।
विधेयक अनुसार ५०० वाटसम्मको भाडाकाे ई-रिक्साले सबैभन्दा कम १ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्नेछ भने सबैभन्दा बढी ३५०० सीसीभन्दा माथिको गाडीले ७० हजार रुपैयाँ तिर्नुपर्नेछ ।
आइसीईतर्फ निजी कार, जीप भ्यानमा १००० सीसीसम्म २३ हजार, १००० सीसी माथिदेखि १५०० सीसीसम्म २५ हजार, १५०० सीसी माथिदेखि २००० सीसीसम्म ३२ हजार, २००० सीसी माथिदेखि २५०० सीसीसम्म ३८ हजार, २५०० सीसी माथिदेखि ३००० सीसीसम्म ४६ हजार, ३००० सीसी माथिदेखि ३५०० सीसीसम्म ६३ हजार ३५०० सीसीभन्दा माथि सबै ७० हजार रुपैयाँ कर लाग्ने छ ।
त्यस्तै, विद्युतीय निजी कार, जीप, भ्यानमा मोटर पीकपावर ५० किलोवाटसम्म ७ हजार, ५० देखि १२५ किलोवाटसम्म १५ हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्म २० हजार २०० किलोवाटभन्दा माथि ३० हजार रुपैयाँ सवारी कर लाग्ने छ ।
त्यसैगरी , निजी मोटरसाइकलकमा १२५ सीसीसम्म ३ हजार १०० रुपैयाँ, १२५ सीसी माथिदेखि १५० सीसीसम्म ५ हजार १०० रुपैयाँ, १५० सीसी माथिदेखि २५० सीसीसम्म ६ हजार २०० रुपैयाँ, २५० सीसी माथिदेखि ४०० सीसीसम्म ११ हजार र ४०० सीसीभन्दा माथि सबै २० हजार रुपैयाँ कर लाग्नेछ ।
त्यस्तै, निजी डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशनरी उपकरणले ४१ हजार रुपैयाँ, ट्रिपर ४१ हजार, मिनिट्रिपर ३० हजार, अटो रिक्सा/थ्री ह्वीलर र टेम्पो ६ हजार, ट्रयाक्टर ६ हजार, पावर टिलर ४ हजार, मिनिबस/मिनिट्रक २७ हजार, ट्रक/बस ३६ हजार र तेल ट्यांकर ग्यास बुलेट ३६ हजार रुपैयाँ सवारी कर तिर्नुपर्छ ।


