नेपाल आयो फुलचार्जमा १५० किलोमिटर चलाउन मिल्ने लेभ्नीङका स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । एक पटकको फुल चार्जमा १५० किलोमिटर गुडाउन सकिने इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । जम्वो इभी नामक कम्पनीले ‘लेभ्नीङ’ ब्रान्डको दुई मोडलका इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो ।

जम्बो इभीले दुई साता भित्र नै लेभ्नीङ ब्राण्डका इलेक्ट्रीक स्कुटरको बिक्री सुरु हुने जनाएको छ । जारी निषेधाज्ञाको कारण यसको ग्राण्ड लञ्चिङ कार्यक्रम भने पछि सारिएको कम्पनीले जनाएको छ ।

‘लेभ्नीङ’का स्कुटरलाई कम्पनीले सुरुमा काठमाडौं र बुटवलबाट बिक्री गर्ने जनाएको छ । त्यसपछि क्रमिकरुपमा डिलर नेटवर्क विस्तार गर्दै जाने योजना कम्पनीले बनाएको छ ।

पछिल्लो समय नेपालमा इलेक्ट्रीक स्कुटर भित्रने क्रम जारी रहेको छ । लकडाउन खुकुलो भएसँगै टेल्जी र जिनियस ब्राण्डका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा बिक्री सुरु भएको थियो । त्यसैगरि बजारमा एम्पिएर, प्योर, याडीया जस्ता ब्राण्डका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधनको बिक्री सुरु हुने तयारी भइरहेको छ ।

जम्वो इभीले सुरुवाती चरण लेभ्नीङका दुई स्कुटरको बिक्री गर्ने जनाएको छ । कम्पनीले एस-५ र एक्स-१ को बिक्री गर्ने छ । कम्पनीले ल्याएको एस-५ मा ३ किलोवाट क्षमताको मोटर दिएको छ । त्यस्तै यसमा ६० भोल्ट २० एम्पीयर आवरको लिथियम आयोन व्याट्री प्याक दिइएको छ । कम्पनीले यसमा डबल व्याट्रीको सुविधा दिएको छ । यो स्कुटरको टप स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । यस्तै यसमा एलइडी लाइट, डिस्क ब्रेक, डिजिटल इन्स्टुमेन्ट क्लस्टर जस्ता फिचर रहेको छ ।

यस्तै एक्स-१ मा २.०२ किलोवाटको मोटर प्रयोग भएको छ । यसमा पनि एस-५ कै समान ६० भोल्ट २० एम्पीयर आवरको सामसुङको पोर्टएवल लिथियम आयोन व्याट्री प्याक दिइएको छ । यसमा पनि कम्पनीले डबल व्याट्री अप्सन दिएको जनाएको छ । अन्य फिचर एस-५ कै समान रहेको कम्पनीले जनाएको छ ।

एक्स-१ को मूल्य २ लाख ७० हजार र एस-५ को मूल्य ३ लाख ५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यी दुबै मोडलमा डबल व्याट्री अप्सन लिँदा ७० हजार रुपैयाँ थप तिर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top