देशका ३८ कार्यालयबाट लाइसेन्स सम्बन्धी सेवा सुचारु, यी ४ वटामा मात्र बाँकी

काठमाडौं । देशका ३८ वटा यातायात कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा सुचारु भएको छ ।

यातायात व्यवस्था विभागले भदौ २४ गतेको आन्दोलनमा क्षति पुगेको सर्भर मर्मत गरी अनलाइन प्रणाली संचालनमा ल्याएसँगै देशका ३८ कार्यालयले लाइसेन्स सम्बन्धी सेवा पुनः सुरू गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी तथा तोडफोड हुँदा इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्दा २ महिनादेखि लाइसेन्स सम्बन्धी सम्पूर्ण काम बन्द भएको थियो ।

विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले सोमबारसम्म देशभरका ४२ मध्ये ३८ कार्यालयबाट लाइसेन्स सम्बन्धी सेवा सुरू भएको जानकारी दिए । अब ४ वटा यातायात कार्यालयबाट मात्र सेवा सुचारु हुन बाँकी रहेको उनले बताए ।

उनका अनुसार लाइसेन्स सम्बन्धी सेवा दिने ४२ मध्ये यातायात व्यवस्था कार्यालय हेटौंडा, पोखरा, चौरजहारी र सुर्खेतबाट मात्र सेवा सुरू हुन बाँकी छ । यी कार्यालयमा आन्दोलनबाट धेरै क्षति पुगेकाले अझै भवन तयार भइनसकेको उनले बताए । अहिले भवन तयारीको काम भइरहेकाले सेवा सुचारु हुन अझै केही दिन लाग्ने उनको भनाइ छ ।

‘भदौ २४ देखि अवरुद्ध लाइसेन्स सम्बन्धी सेवा कात्तिक १६ देखि नै आंशिक रुपमा सुरू भएको थियो । हाल ४२ मध्ये ३८ कार्यालयबाट सुरू भइसेको छ,’ उनले मेरोअटोसँग भने, ‘बाँकी चारवटामा भवन तयार भइनसकेकाले अझै केही दिन लाग्न सक्छ ।’

सेवा संचालनमा आएका कार्यालयहरूबाट सेवाग्राहीले लाइसेन्स सम्बनधी नवीकरण, नयाँ आवेदन लगायत काम गर्न सक्ने उनले बताए ।केही कार्यालयहरूले यसअघि रोकिएको ट्रायल परीक्षा समेत सरू गरिसकेका छन् भने अन्यले तयारी भइरहेको जनाएका छन् ।

सामान्य अवस्थामा देशभरबाट औसतमा दैनिक ६ देखि ७ हजारसम्म नयाँ लाइसेन्स र नवीकरणका लागि आवेदन आउने गरेको विभागको तथ्यांक छ । करिब २ महिनादेखि नयाँ आवेदन रोकिएकाले सेवाग्राहीको चाप पर्ने देखिएको छ । यद्यपि, हाल दैनिक पर्ने आवेदनको संख्या हेरेर लाेड परे मात्र कोटा तोक्नुपर्ने/नपर्ने निर्णय गरिने निर्देशक खतिवडाले बताए ।


Back_to_top