इक्मा अटो शोमा चर्चित बनेका तीन नयाँ मोटरसाइकल नेपाल आउँदै

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अटोशो मध्यको एक इक्मा अटोशो २०२५ आइतबार इटालीको मिलानमा सम्पन्न भयो ।

उक्त अटोशोमा विश्वभरका सयौं अटोमोबाइल कम्पनीहरूले सहभागीता जनाएका थिए । जहाँ अटो ब्राण्डहरूले आफ्नो नयाँ प्रोडक्ट, नयाँ भिजन, नयाँ प्रोटोटाइप र कन्सेप्ट मोडल प्रदर्शन गरेका थिए ।

इक्मामै भारतीय मोटरसाइकल ब्राण्डहरूले पनि सहभागिता जनाएका थिए । जहाँ उनीहरूले पनि नयाँ इनोभेसन, टेक्नोलोजीबाट बनाइएका मोटरसाइकल, प्रोटोटाइप र कन्सेप्ट मोडल देखाएका थिए ।

जसमा तीन ब्राण्डले प्रदर्शन गरेका मोटरसाइलले निकै चर्चा बटुल्यो । हिरो एक्सपल्स २१० डकार एडिसन, बीएमडब्लू एफ ४५० जीएस र रोयल इनफिल्डको बुलेट ६५० इक्मा अटोशोको हटकेक मोटरसाइकल बने ।

यी तिनै मोटरसाइकल भारतमा बिक्री हुने बित्तिकै नेपालमा पनि आउने निश्चित जस्तै छ । मिडियाबाट आएका रिपोर्ट अनुसार यी मोटरसाइकल भारतमा करिब ३ देखि ४ महिना भित्र लन्च हुनेछन् । त्यसपछि नेपाली बजारमा पनि उपलब्ध हुने छन् ।

हिरो एक्सपल्स २१० डकार भर्सन

हिरोले इक्मामा सार्वजनिक गरेको एक्सपल्स २१० को नयाँ डकार एडिसन भर्सन निकै आकर्षक र हाइटेक रहेको छ । एक्स्पल्स २१० डकार एडिसनमा अगाडि पछाडि नै पूरा एड्जस्टेबल र्याली स्पेक सस्पेन्सन सेटअप दिइएको छ ।

हिरो एक्सपल्स २१० डकार एडीसनमा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलमा एन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचेबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट सिस्टम र पूरा एलईडी लाइट जस्ता फिचरहरू उपलब्ध छन् ।

नेपालमा हाल सीजी मोटर्सले हिरोको मोटरसाइकलहरू बिक्री गर्दै आइरहेको छ । हाल नेपालमा हिरोको एक्सपल्स २००, एक्स्ट्रीम, स्प्लेन्डर र जुम मोडलहरू उपलब्ध छन् । कम्पनीले एक्सपल्सको २१० समेत सार्वजनिक गरिसकेको छ । यसको बिक्री भने सुरु भएको छैन । भारतमा सफल रुपमा चर्चा कमाएका हिरोको सबै मोटरसाइकल नेपालमा आउने छन् । त्यसैले डकार एडीसन एक्सपल्स २१० पनि नेपाल आउने अनुमान सहजै गर्न सकिन्छ ।

बीएमडब्लू एफ ४५० जीएस

इक्मामा चर्चित अर्को मोटरसाइकल हो बीएमडब्लू मोटार्डले टीभीएससँगको सहकार्यमा भारतमा नयाँ प्लेटफर्ममा निर्माण गरेको एफ ४५० जीएस ।

यो मोटरसाइकल बेसिक, एक्सक्लुसिभ, स्पोर्ट र जीएस ट्रफी गरी चार भेरियन्टमा उपलब्ध छ । कम्पनीले मोटरसाइकलमा भेरियन्ट अनुसार केही फिचरहरू भने छुट्टाछुट्टै प्रयोग गरेको छ ।

कम्पनीले विल्कुलै नयाँ प्लेटफर्ममा तयार पारेको डबल पर्पस एड्भेन्चर बीएमडब्लू एफ ४५० जीएसमा ४२०सीसीको नयाँ प्यारालल ट्विन सिलिण्डर, एफआई इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम ८ हजार ७५० आरपीएममा ४७.५ ब्रेकहर्स पावर र ६ हजार ७५० आरपीएममा ४३ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीड गियरबक्स र चेन ड्राइभ छ ।

मोटरसायकलमा डाइनामिक ट्रयाक्सन कन्ट्रोल, इन्जिन ड्रयाग टर्क कन्ट्रोल, डाइनामिक ब्रेक कन्ट्रोल, मल्टिपल अफरोड राइडमोडहरू, ब्रेम्बो फोर पिस्टन बाइब्रे क्यालिपर डिस्कब्रेक, स्ट्यान्डर्ड एबीएस प्रो, जस्ता सुरक्षा फिचरहरू छन् ।

साथै, हिटेड ग्रिप्स एक्सिलेटर, पूरा एलईडी लाइटिङ सेटअप, डीआरएल, सिफ्ट एसिस्टेन्स क्विकशिफ्टर, कनेक्टिभिटी सहितको ६.५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल छ । यसमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण डिटेल्स हेर्न सकिन्छ ।

हाल नेपालमा बीएमडब्लूका मोटरसाइकल हिमालयन मोटार्डले बिक्री गर्दै आएको छ । उक्त मोटरसाइकल नेपाल ल्याइने कम्पनीले जनाएको छ ।

रोयल इनफिल्ड बुलेट ६५०

नयाँ बुलेट ६५० रोयल इनफिल्डको क्लासिक ६५० प्लेटफर्ममा निर्माण भएको मोटरसाइकल हो । त्यसैले नयाँ बुलेट ६५० मा क्लासिक ६५० मा प्रयोग भएको इन्जिन र अन्य फिचरहरू दिइएको छ ।

रोयल इनफिल्ड बुलेट ६५० को डिजाइन बुलेट ३५० जस्तै छ। बुलेट डिजाइनको लिगेसी यथावत राख्दै कम्पनीले इन्जिन र फिचरहरूमा भने अपग्रेड गरेको हो ।

बुलेट ६५० मा ६४८ सीसीको एयर र आयल कुल्ड, प्यारालल ट्विन सिलिण्डर इन्जिन छ । यसले ४७ पीएस पावर र ५२.३ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीडको गियरबक्स छ ।

मोटरसाइकलमा सेमी डिजिटल कन्सोल छ। यसमा एनालग स्पीडोमिटर, गियर पोजिसन इन्डिकेटर, इन्धन गेज, ट्रिपमिटर र ओडोमिटर सहितको डिजिटल इनसेट, टर्न बाई टर्न नेभिगेसनको लागि स्ट्याण्डर्ड ट्रिपर नेभिगेसन मोड्युल, डबल डिस्कब्रेक, एबीएस, वायर स्पोक ह्वील लगायतका फिचरहरू छन् ।

यस्तै, रोयल इनफिल्डको नेपालमा आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ हो । कम्पनीले भारतमा बनेका प्राय सबै मोडलहरू नेपालमा बिक्री गर्दै आइरहेको छ । त्यसकारण बुलेट ६५० पनि नेपाल आउने पक्का भएको हो ।


Back_to_top