काठमाडौं । विद्युतीय सवारी साधनको बढ्दो प्रयोगसँगै विश्व राजनीति इनर्जीमा केन्द्रित भएको छ । त्यसमा पनि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएसँगै करका दरहरुमा उलटफेर भइरहका छन् ।
अमेरिकामा विद्युतीय साधनको लागि आवश्यक र अन्य ग्याजेटहरुको लागि चाहिने ब्याट्रीको सबैभन्दा ठूलो हिस्सा चीनबाट आयात हुँदै आएको थियो । अमेरिकाले सन् २०२२ मा १६ अर्ब ४५ करोड डलर बराबरको लिथियम आयोन सेल चीनबाट खरिद गरेको थियो । सन् २०२५ बजारमा ब्याट्रीको माग बढ्ने तर, चिनियाँ उत्पादनको हिस्सा घट्ने देखिएको हो ।
चिनियाँ उत्पादन प्रयोगलाई महंगो बनाउन थप राजश्व संकलन गर्ने योजनासहित राष्ट्रपति ट्रम्पले यसअघि वाइडेन सरकारले लगाएको ३४ प्रतिशत अतिरिक्त करमा थप ६४.९ प्रतिशत कर थप्ने निर्णय लिएको छ । यसले चिनियाँ ब्याट्रीमा १०० प्रतिशत अतिरिक्त कर पुग्ने भएको हो ।
चीनसँग करको दायर बढाउँदै ट्रेड वारमा उत्रेको ट्रम्प प्रशासनको कारण अमेरिकी कम्पनीहरुले जापान र दक्षिण कोरियाबाट ब्याट्री खरिद गर्न सक्ने आँकलन गरिएको छ । अमेरिकी कम्पनीहरुले केही कम करको कारण जापान र दक्षिण कोरिया रोज्ने अनुमान गर्न सकिन्छ । यी दुई देशलाई क्रमशः २४ र २५ प्रतिशत कर लगाइएको छ ।
गतवर्ष जापानबाट १ अर्ब ७० करोड डलर बारबरको ब्याट्री आयात गरेको अमेरिकी कम्पनीहरुले दक्षिण कोरियाबाट १ अर्ब ३० करोड मूल्य बराबरको लिथियम आयोन सेलहरु खरिद गरेका थिए । चीनको तुलनामा यी दुबै देशका उत्पादनमा अमेरिकाले कम कर लगाएको छ । त्यसको सबैभन्दा ठूलो फाइदा यी दुबै देशले पाउने विज्ञहरुको भनाइ छ ।


