काठमाडौं । लिथियम आयोन ब्याट्री प्रयोग भएका ईभी चढ्ने र नयाँ ईभी किन्ने योजना बनाएर बसेकालाई चीनबाट खुसीको खबर आएको छ । लिथियमको सबैभन्दा ठूलो उत्पादक र बिक्रेता चीनमा लिथियम कार्बोनेटको मूल्यमा ब्यापक गिरावट आएको हो ।
यस वर्षको जुनबाट लिथियम कार्बोनेटको मूल्य निरन्तर घटिरहेको छ । यहि नोभेम्बर ७ मा ब्याट्री ग्रेड लिथियम कार्बोनेटको मूल्य प्रतिटन २१ हजार ७५४ डलर कायम भएको छ । यो मूल्य गत दुई वर्ष यताकै सबैभन्दा कम मूल्य हो ।
सन् २०२३ जुन २५ बाट व्याट्री ग्रेड लिथियम कार्बोनेटको मूल्य निरन्तर घटिरहेको छ । त्यसवेला प्रतिटन ४३ हजार २३२ थियो ।
चाइनामा लिथियम कार्बोनेटको मूल्य सन् २०२० को जुनमा ५ हजार ६२८ डलरबाट १४ गुना बढेर सन् २०२२ नोभेम्बरमा अधिकतम ८२ हजार ३४८ डलर प्रतिटनसम्म पुगेको थियो । योसँगै ब्याट्रीको लागत बढ्दै गएको थियो ।
पछिल्लो समयमा लिथियमको सप्लाई अत्याधिक भएकाले यसको मूल्यमा गिरावट आएको बताइन्छ । आगामी वर्षसम्ममा यसको मूल्य ११ हजार डलर प्रतिटन हुने प्रक्षेपण गरिएको छ । लिथियम कार्बोनेट सन् २०२५ सम्ममा ६९०० देखि ८३०० प्रतिटन हुने अनुमान गरिएको छ ।
सन् २०२६ पछि सोडियम आयोन र सोलिड स्टेट ब्याट्रीको प्रयोगमा कम्पनीहरु जाने घोषणा भइसकेको कारण पनि लिथियम कार्बोनेटको मूल्य घटिरहेको बताइन्छ ।


