काठमाडौं । औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घन्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।
चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए ।
‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत् उत्पादनमा भएको बृद्धि,अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, उनले भने ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।