तपाईंको लाइसेन्स, ब्लूबुक हरायो वा जल्यो ? अनलाइनबाटै यसरी लिनुहोस् सिफारिस

काठमाडौं । तपाईंको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता पुस्तिका (ब्लूबुक) हराएको, जलेको वा अन्य कारण नष्ट भएको छ ।

यदि छ भने कानुनी प्रक्रिया पूरा गरी प्रतिलिपि निकाल्नुपर्दछ । ब्लूबुक र चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा प्रतिलिपी लिन पाउने व्यवस्था छ । आवश्यक कागजातसहित सम्बन्धित यातायात कार्यालयबाट प्रतिलिपि लिन सकिन्छ ।

प्रतिलिपि लिनका लागि सबैभन्दा पहिला ट्राफिक प्रहरीको सिफारिस चाहिन्छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालय (बग्गिखाना) र उपत्यका बाहिर कागजात हराएको जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालयबाट सिफारिस लिनुपर्ने छ । हाल उक्त सेवा अनलाइनबाटै पाउन सकिन्छ ।

ट्राफिकको सिफारिस लिएपछि हराएको कागजपत्रको प्रतिलिपि, सक्कल नागरिताकासहित व्यक्ति स्वयम् यातायात कार्यालयमा उपस्थित भएर प्रतिलिपि लिन सकिन्छ ।

यहाँ हामीले ब्लूबुक वा लाइसेन्सको प्रतिलिपि लिन आवश्यक ट्राफिकको सिफारिस अनलाइनबाट कसरी लिने भन्ने जानकारी दिएका छौं ।

  • सबैभन्दा पहिला काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइट लगइन गर्नुहोस् ।
  • त्यसपछि खुल्ने पेजको माथितिर दायाँपट्टी रहेको डाउनलोड वा होमपेजको मुख्य फोटोभन्दा तल रहेको हराएको कागजात सम्बन्धी आवेदन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब र सडक ईजाजत पत्र हराएको सिफारिस अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोला भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि अनलाइन आवेदन फारम खुल्छ । फाराममा सबैभन्दा आफ्नो लाइसेन्स, ब्लूबुक, लाइसेन्स वा रुट परमिट के हराएको हो, त्यसका क्लिक गर्नुहोस् ।
  • लाइसेन्स हो भने चालकको नाम, लाइसेन्स नम्बर, फोन नम्बर, ठेगाना इन्ट्री गर्नुहोस् । ब्लूबुक हो भने सवारीधनीको नाम, सवारी नम्बर, ठेगाना इन्ट्री गर्नुहोस् ।
  • त्यसपछि नागरिकता/लाइसेन्स/पासपोर्टको फोटो अपलोड गर्नुहोस् ।
  • त्यसपछि सबमिट गर्नुहोस् । त्यसपछि एप्लिकेसन आइडी आउने छ । उक्त नम्बर सुरक्षित राखी ७२ घण्टापछि ७ दिन भित्रमा अनलाइनबाटै प्रतिलिपि आउँछ । यदि, आवेदन दिँदा कुनै कागजात नपुगे वा त्रुटि भएको भए पनि अनलाइनबाटै जानकारी गराइने छ । जानकारी भएपछि ट्राफिक कार्यालयमा गएर सच्याउन सकिने छ ।
  • ट्राफिकबाट सिफारिस प्राप्त भएपछि सक्कल नागरिताकासहित व्यक्ति स्वयम् यातायात कार्यालयमा गएर प्रतिलिपि लिन सक्नेछन् ।

हाल डिजिटालाइजेसन नभएका कारण ब्लूबुक र लाइसेन्सको विवरण अनलाइनमा हेर्न सकिँदैन । लाइसेन्स नागरिक एपमा देखाउन मिल्ने भए पनि गत भदौ २३ र २४ गते भएको आन्दोलनका कारण यातायात व्यवस्था विभागको सर्भरमा क्षति पुगेकाले अहिले हटेको छ । त्यसैले अहिले सवारीचालकले ब्लूबुक र लाइसेन्सको कागजात बोकेरै हिँड्नसपर्ने बाध्यता छ ।

प्रतिलिपि लिन कति लाग्छ शुल्क ?

ब्लूबुकको प्रतिलिपि लिन दुईपाँग्रे सवारी साधनको ५०० रुपैयाँ र चारपाँग्रेको १ हजार रुपैयाँ शुल्क लाग्छ । त्यस्तै, लाइसेन्सको हकमा भने ५०० रुपैयाँ लाग्छ ।


Back_to_top