काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल कम्पनी एलएस अटोले काठमाडौंको तीनकुनेमा पहिलो आधिकारिक शोरुम संचालनमा ल्याएको छ ।
उक्त शोरुमको उद्घाटन मंगलबार एलएस अटाको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरका मेनेजिङ डाइरेक्टर विकास साह तथा एलएस अटोका कन्ट्रीहेड एन्डी जुले संयुक्त रूपमा गरेका हुन् ।
एयरपोर्ट कार्गो टर्मिनल अगाडि मुख्य सडकमा रहेकोे उक्त शोरुमको क्षेत्रफल ३ हजार स्क्वायर फिट रहेको छ ।
नेपाली बजारमा एलएस अटोको एलईभी ०१ मोडलका ईभीहरू बिक्री भइरहेको छ । सीई र एसई दुई भेरियन्टको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्रीप्याक छ । यो ईभीले एकपटकको फुलचार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

एलएसको एलईभी ०१ मा ९९ किलोवाटको मोटर र नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
एलएस अटोको थप दुई नयाँ मोडलका ईभीहरू आगामी महिना नेपाल आउने नेक्सन भेन्चरका जनरल मेनेजर नवीन फुयालले जानकारी दिए ।
उनले आगामी नाइमा मोबिलिटी शोमा प्रिमियम ह्याचब्याक एलईभी ०५ र एलईभी ०१ को फोरह्वील भर्सन एलईभी एक्स लन्च हुने बताए । एसएस अटोले काठमाडौंको कालोपुलमा सर्भिस सेन्टर स्थापना गरिसकेको छ भने देशव्यापी रूपमा चार्जिङ स्टेशन विस्तार गर्ने योजना रहेको बताएको छ ।
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नलोजी अन्तर्गतको एलएस अटो एक न्यू इनर्जी भेहिकल कम्पनी हो । यो कम्पनीले चिनको जियाङ्सी प्रान्तमा वार्षिक १ लाख ५० हजार युनिट उत्पादन क्षमता रहेको आफ्नै उत्पादन प्लाण्ट रहेको छ ।

एलएस अटोले युरोपेली बजारलाई लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लाण्ट बनाइरहेको छ । एलएस अटोका ईभीहरू नेपाल लगायत यूएई, मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान लगायत ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

