टेस्लालाई टक्कर दिन लुसिड एयर आउँदै, फुलचार्जमा ८३२ किमि रेञ्ज

काठमाडौं । अमेरिकी स्टार्टअप कम्पनी लुसिड मोटर्सले इलेक्ट्रीक कारमा नयाँ रेञ्जसहितको लग्जरी सेडान कार बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले यो कारको नाम ‘लुसिड एयर’ राखेको जनाएको छ ।

लुसिड एयरले एक पटकको फुल चार्जमा ८३२ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । अहिले विश्वमा नै व्यवसायीक उत्पादन भइरहेका टेस्लाका कारहरु धेरै रेञ्ज प्रदान गर्ने सूचीमा समावेस रहेका छन् । यस्तोमा लुसिड एयरले टेस्लाका गाडीलाई उछिन्ने आँकलन भइरहेको छ ।

लुसिड मोटर्सका प्रमुख कार्यकारी अधिकृत पिटर रोलिन्सनका अनुसार यो लग्जरी सेडान कारको मूल्य १ लाख अमेरिकी डलर हाराहारी पर्ने छ । यसलाई कम्पनीले सन् २०२१ बाट व्यवसायीक उत्पादन गर्ने छ । त्यसको एक वर्षपछि नै कम्पनीले इलेक्ट्रीक एसयूभी ल्याउने योजना बनाएको छ ।

यद्यपी यसलाई ९ सेप्टेम्बर २०२० मा सार्वजनिक गर्ने तयारी भइरहेको लुसिड मोटर्सको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो कारले २.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्न सक्छ ।

यो बाहेक यसमा प्रयोग भएको व्याट्री, मोटर्स, अन्य फिचरको बारेमा अहिले कम्पनीले कुनै किसिमको जानकारी सार्वजनिक गरेको छैन । अटो क्षेत्रका जानकारहरुको बुझाईमा यसले टेस्लाका कारलाई कडा टक्कर दिने छ ।


Back_to_top