भारतमा म्याग्नाइटलाई उछिन्यो काइगरले, बैशाखबाट नेपालमा बुकिङ खुल्ने

काठमाडौं । भारतमा एउटै फ्याट्रीबाट उत्पादन भएका रेनो काइगर र निसान म्याग्नाइट बीचको प्रतिस्पर्धा निकै रोचक भएको छ ।

निसानले आफ्नो पहिलो सब फोर मिटर एसयूभी म्याग्नाइट विक्री सुरु गरेको दुई महिनापछि भारतमा विक्री सुरु गरेको रेनोको सव फोर मिटर एसयूभी काइगर निसान म्याग्नाइट माथि भारी परेको छ । यो तथ्यलाई फेब्रुअरी र मार्चको तथ्यले पुष्टी गर्छ ।

फेब्रुअरीमा फ्याट्रीबाट डिलरकोमा पठाइएको संख्यामा पनि अगाडि रहेको रेनो काइगरले मार्चको तथ्यांकमा पनि म्याग्नाइटलाई उछिनेको छ । फेब्रुअरीमा ३ हजार २२६ यूनिट काइगर डिस्प्याच भएको थियो भने, मार्चमा ३ हजार ८३९ यूनिट डिस्प्याच भएको छ । तर, निसान म्याग्नाइट भने फेब्रुअरीमा २ हजार ९९१ यूनिट र मार्चमा २ हजार ९८७ यूनिट मात्रै डिस्प्याच भएको छ । मार्चमा म्याग्नाइटभन्दा काइगर ८५२ यूनिट धेरै डिलरकोमा पठाइएको हो ।

निसानको म्याग्नाइट अहिले नेपालमा विक्री वितरण हुँदै आएको छ । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइटको विभिन्न ११ भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । यो सब फोर मिटर सेग्मेन्टमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी समेत हो । यसको सुरुवाती एक्सई वेस भेरियन्टको मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले नेपाल ल्याउने तयारी गरिरहेको काइगर सम्भवत बैशाख महिनाको तेस्रो साताबाट नेपालमा बुकिङ सुरु हुने अनुमान गर्न सकिन्छ । भारतमा पनि म्याग्नाइटभन्दा केहि हजार मूल्य कम रहेको काइगर नेपालमा पनि म्याग्नाइटभन्दा कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।

एउटै इन्जिन

यी दुबै गाडी एउटै प्ल्याटफर्ममा उत्पादन भएका हुन् भने यी दुबैमा इन्जिनसमेत एउटै रहेको छ । १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन रहेको यी दुई गाडीको नेपाली बजारमा आगामी दिनमा हुने प्रतिस्पर्धा निकै रोचक बन्ने अनुमान लगाउन सकिन्छ ।


Back_to_top