नेपालमा बनेको यात्री ‘P-0’ बैशाख १० मा सार्वजनिक हुने, अल्टो कारभन्दा पावर धेरै

काठमाडौं । नेपाली युवा इन्जिनियरहरुले नेपालमा नै डिजाइन र डेभलप गरेको मोटरसाइकल ‘पी-०’ आगामी बैशाख १० गते सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको जानकारी आफ्नो आधिकारीक वेभसाइटबाट दिएको हो ।

यात्रीले सन् २०१९ मा यसको प्रोटोटाइप देखाएको थियो । प्रोटोटाइपमा देखाइएको भन्दा कम्पनीले प्रोडक्सन मोडलमा ठूलै परिमार्जन हुने जनाएको छ । यो इलेक्ट्रीक मोटरसाइकले ६४ पीएस पावर प्रदान गर्ने जनाइएको छ । जुन अल्टो ८०० भन्दा बढी पावर हो । यसको टर्क १२० एनएम रहेको छ ।

मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । यसलाई दुई घन्टामा नै ३.३ किलोवाट क्षमताको चार्जरले फुल चार्ज गर्छ । मोटरसाइकलले सून्यदेखि ६० किलोमिटरको स्पीड केवल २.५ सेकेन्डमा भेट्टाउन सक्ने कम्पनीले दाबी गरेको छ । यसको उच्चगति क्षमता भने १४० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले पी-० मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ । फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

अगाडि ४३ एमएम आरसीपी एड्जस्टेवल यूएसडी फर्क र पछाडि आरसी एड्जस्टेवल नाइट्रोजन-चार्जड् मोनोशक सस्पेन्सन दिइएको छ । अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहने छ । यसमा १७ इन्चको टायर प्रयोग गरिएको छ ।

कम्पनीले यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४०० एमएमको ह्वीलवेस दिएको छ ।


Back_to_top