काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्रा र स्कोडा अटो फक्सवागेन इन्डियाले ५०/५० प्रतिशत लगानीमा विद्युतीय कार उत्पादन गर्ने गरी जोयन्ट भेन्चर कम्पनी स्थापना गर्ने भएका छन् ।
दुबै कम्पनीले यसको आधिकारीक जानकारी नदिएपनि इकनोमिक टाइम्सले ईभी विकासमा दुई कम्पनीले साझेदारी गर्न लागेको रिपोर्टमा दावी गरेको छ । स्कोडा अटो फक्सवागेन इन्डिया युरोपियन अटोमोवाइल ग्रुप फक्सवागेनको पूर्ण स्वामित्व भएको कम्पनी हो ।
दुई कम्पनी बीच हुने साझेदारी मुख्यतया इलेक्ट्रीक एसयूभी उत्पादनमा कस्ट शेयरिङ, टेक्नोलोजी र भेहिकल प्लेटफर्म सेयरिङमा रहनेछ । यो सम्झौता इन्डिया तथा इन्टरनेशनल मार्केटमा समेत लागु हुने बताइन्छ । यो सम्झौता अनुसार महिन्द्राको पुर्णे चाकनमा रहेको प्लान्टलाई उत्पादन हबको रुपमा प्रयोग गरिनेछ ।
फक्सवागेन गु्रप र महिन्द्राले यसअघि नै फक्वागेनको कम्पोनेन्ट तथा एमईभी प्लेटफर्म महिन्द्राले इलेक्ट्रीक प्लेटफर्म ‘इनग्लो’ बनाउन प्रयोग गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता दुई वर्षलामो छलफलपछि सन् २०२४ फेब्रुअरीमा टुङ्गोमा पुगेको थियो ।
महिन्द्राले आगामी २ वर्षमा १२ हजार करोड ईभी व्यवसाय विस्तारमा लगानी गर्ने जनाएको छ । साथै, कम्पनीले १४ हजार करोड आइसीई वेसको युटिलीटी भेहिकलमा खर्च गर्ने योजना सार्वजनिक गरेको थियो ।
कम्पनीले आगामी वर्षबाट आफ्नो फ्ल्यागशीप मोडलहरु थार, एक्सयूभी७०० र स्कर्पियो पनि ईभी बनाएर ल्याउने तयारी गरिरहेको छ ।
यता फक्सवागेन ग्रुप विगत २ दशकदेखि भारतीय बजारमा उपस्थित रहेपनि उल्लेखनिय प्रदर्शन गर्न सकिरहेको छैन । ग्रुपले ‘हाइ कस्ट स्ट्रक्चर’का कारण जापानीज, साउथ कोरियन तथा भारतका स्थानीय उत्पादकहरुसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।

