काठमाडौं । भारतीय एसयूभी ‘एक्सपर्ट’को नामले चिनिने महिन्द्रा एण्ड महिन्द्राले आफ्नो सर्वाधिक सफल एसयूभी स्कार्पियो र एक्सयूभी ५०० लाई पनि इलेक्ट्रीक भर्सनमा ल्याउने तयारी गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले यसअघि नै एक्सयूभी ३०० र केयूभी १०० लाई इलेक्ट्रीकमा ल्याउने जनाइसकेको थियो ।
अहिले कम्पनी नयाँ जेनेरेशन स्कार्पियो र एक्सयूभी ५०० बजारमा ल्याउने तयारीमा जुटेको छ । यसअघि डिजेल इन्जिनमा मात्रै उपलब्ध स्कार्पियो र एक्सयूभी ५०० अब भने पेट्रोल इन्जिनमा पनि उपलब्ध रहने छन् । कम्पनीले थारमा पनि पहिलो पटक पेट्रोल इन्जिन अप्सन दिएर आफु आक्रमक बजार विस्तारमा लाग्ने संकेत दिएको थियो । अब कम्पनीले थप केहि मोडल इलेक्ट्रीक अप्सनसहित बजारमा आउने तयारीमा रहेको रिपोर्टमा दाबी गरिएको छ ।
विश्वका अधिकांश मोटर उत्पादक कम्पनीहरुले विद्युतीय कार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको समयमा महिन्द्राले पनि आफ्ना सबै मोडलको इलेक्ट्रीक अप्सनसमेत ग्राहकलाई दिने तयारी गरेको हो । भारतमा विद्युतीय कार उत्पादन गर्ने पहिलो कम्पनी बनेको महिन्द्राले एक्सयूभी ३०० को इलेक्ट्रीक कन्सेप्ट अटो एक्स्पो २०२१ मा सार्वजनिक गरेको थियो ।
महिन्द्राले सन् २०२७ सम्ममा आफ्ना सबै मोडललाई डिजेल, पेट्रोल र इलेक्ट्रीक अप्सनमा ग्राहकले किन्न सक्नेगरि बजारमा ल्याउने तयारी गरेको हो । तर, रिपोर्टमा स्कार्पियो र एक्सयूभी ५०० कहिलेसम्म बजारमा आउने छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।
महिन्द्राका कार्यकारी निर्देशक राजेश जेजुरिकारका अनुसार इलेक्ट्रीक एक्सयूभी ३०० पछि अन्य दुई मोडललाई इलेक्ट्रीकमा ल्याउन काम भइरहेको छ ।
‘अहिले ती गाडीको कन्सेप्टमा काम भइरहेको छ । यसको सबै कुरा ग्राहकको बीचमा आउन केहि समय कुर्नु पर्छ’, जेजुरिकारले भने ।


