१८ वर्षमा कम्पनीको पहिचान बदलेको एसयूभी, नेपाल किन्न पाइन्छ ७ भेरियन्ट

काठमाडौं । महिन्द्रा स्कर्पियो नेपाली गाडी चढ्ने मानिसहरुको लागि नयाँ नाम होइन । करिब ७० वर्षको अटोमोवाइलमा अनुभव हासिल गरेको महिन्द्राले सन् २००२ बाट बजारमा ल्याएको स्कर्पियोको सफलता ग्राहकको चाहनासँग जोडिएको मान्ने गरिन्छ ।

स्कर्पियोको उत्पादन सुरु भएको १८ वर्ष पूरा भएको छ । यी १८ वर्षमा महिन्द्राको पहिचान नै स्कर्पियोले बदलिदिएको छ भन्दा फरक नपर्ला । लामो बोनेट सहितको बक्सी डिजाइनमा रहेको स्कर्पियो देख्दा नै निकै बलियो अनुभव गर्न सकिन्छ । एसयूभी भन्नको लागि ल्याडर फ्रेम च्याचिस र फोर वाई फोर ड्राइभिङ मोडको आवश्यकता पर्छ । यी दुबै स्कर्पियोमा आवश्यकता अनुसारको छनोटमा पाउन सकिन्छ ।

स्कर्पियोको अर्को महत्वपूर्ण पाटो पावर हो । महिन्द्राले स्कर्पियोमा १.९ र २.२ लिटर एमहक डिजेल इन्जिन दिएको छ । १.९ लिटर इन्जिनले १२० बीएच पावर र २८० एनएम टर्क प्रदान गर्छ । त्यस्तै २.२ लिटर इन्जिनले १४० ब्रेक हर्स पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले सन् २०२१ बाट नयाँ जेनेरेशन स्कर्पियो बजारमा ल्याउने तयारी गरिरहेको छ । यसमा २.० लिटर इन्जिन टर्बो चार्ज्ड रहने छ । उक्त इन्जिनले १९० बीएच पावर र ३८० एनएम टर्क प्रदान गर्ने बताइएको छ ।

फिचरका हिसावले पनि स्कर्पियो निकै उत्कृष्ट रहेको छ । कम्पनीले यसमा पावर स्टेरिङ, पावर विन्डो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अलोय ह्वील, एयर क्वालिटी कन्ट्रोल, रिमोट फ्यूल लिड ओपनर, क्रुज कन्ट्रोल, नेभिगेसन सिस्टम, किलेस इन्ट्री, भ्वाइस कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर जस्ता विशेषता उपलब्ध रहेको छ ।

७ सिट क्षमताको स्कर्पियोमा फोर वाई फोर सिस्टम दिइएको छ । जसले अफरोड क्षमतालाई बढाउने छ । अहिले बजारमा बिक्री वितरण भइरहेको स्कर्पियो तेस्रो जेनेरेशन मोडल हो ।

नेपालमा अग्नी इनकर्पोरेटले बिक्री वितरण गर्दै आएको महिन्द्रा स्कर्पियो ७ भेरियन्टमा उपलब्ध रहेको छ । १.९ लिटर र २.२ लिटर इन्जिनमा स्कर्पियो नेपालमा बिक्री वितरण हुँदै आएको छ । १.९ लिटर इन्जिनमा विभिन्न ४ भेरियन्ट उपलब्ध रहेको छ । जसमा एस५ टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ४८ लाख ८५ हजार, एस५ फोर ह्वील ड्राइभ भेरियन्टको ५३ लाख रहेको छ । त्यस्तै एस ११ टु ह्वील ड्राइभको मूल्य ६१ लाख ८० हजार र एस ११ को फोर ह्वील ड्राइभ भेरियन्टको ६६ लाख ८० हजार रुपैयाँ रहेको छ ।

मन्हिद्राले बिक्री गर्दै आएको २.२ लिटर इन्जिन युक्त स्कर्पियो एस ७ भेरियन्टको मूल्य ५७ लाख ८० हजार रहेको छ । महिन्द्राले एस ११ टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ६५ लाख ६५ हजार तोकेको छ भने, फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य ७१ लाख २५ हजार रुपैयाँ राखेको छ ।

अन्त्यमा, महिन्द्र स्कर्पियोको सफलता यसको मूल्य, भौगोलिक अवस्था, सडकको अवस्था, स्थानिय मानिसको सोच, ठूला राजनीतिज्ञ र लामोयात्रा गर्ने व्यवसायीको कारण चुलिएको हो ।

महिन्द्राले जुन मूल्यमा डिजेल इन्जिन युक्त एसयूभी दिइरहेको छ, त्यो अन्य प्रतिस्पर्धीसँग छैन । स्कर्पियोलाई मूल्य अनुसारको उत्कृष्ट फिचर भएको एसयूभी मान्न सकिन्छ ।

नेपालमा पनि अग्नी इनकर्पोरेटको व्यवसायीक यात्रामा स्कर्पियोको निकै ठूलो योगदान रहेको छ ।


Back_to_top