महिन्द्राले गर्‍यो ३० हजार इलेक्ट्रीक सवारी बिक्री, ८५ लाख लिटर पेट्रोल बचत भएको दाबी

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले भारतमा ३० हजार यूनिट इलेक्ट्रीक सवारी बिक्री गरेको जनाएको छ । कम्पनीले भारतमा बिक्री गरेको ३० हजार इलेक्ट्रीक सवारीमध्ये तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी रहेका छन् ।

कम्पनीले सन् २०१५ बाट लिथियम आयोन व्याट्रीयुक्त सवारीसाधनको उत्पादन सुरु गरेको हो । त्यसपछि सेडान कारको रुपमा कम्पनीले ल्याएको इभेरिटो सहित लिथियम आयोन व्याट्रयुक्त कारको बिक्री संख्या १ हजार यूनिट पूरा भएको जनाइएको छ ।

महिन्द्राले सुरुमा उत्पादन गरेको ५०० इभीले अहिलेसम्म १ लाख किलोमिटरको यात्रा तय गरिसकेको छ भने, करिब ७५ इभीले २ लाख किलोमिटर यात्रा गरेको कम्पनीे जानकारी दिएको छ ।

महिन्द्राका इलेक्ट्रीक कारले अहिलेसम्म करिब १० करोड किलोमिटर यात्रा गरिसकेको दाबी कम्पनीले गरेको छ । उक्त यात्राबाट करिब ८५ लाख लिटर इन्धन बचत भएको कम्पनीले दाबी गरेको छ । साथै, कम्पनीका अनुसार १२० भन्दा बढी कार्वन पार्क निर्माणमा लाग्ने खर्च महिन्द्राका इभीले बचाएको दाबी छ ।

महिन्द्राका मेनेजिङ डाइरेक्टर पवन गोइन्काले उक्त अवसरमा बोल्दै भने, ‘हामीले लिथियन आयोन व्याट्री जडित इलेक्ट्रीक कार १ हजार यूनिट बिक्री गर्न सफल भएका छौं । यसबाट हामीले पर्यावरणमा केही सहयोग गर्न सकेका छौं । भोलिका दिनमा इलेक्ट्रीक सवारीसाधनको उत्पादन र बिक्रीमा अझ बढी काम गर्नेछौं ।’

त्यस्तै कम्पनीका को–फाउन्डर संजय कृष्णानले भने ‘हामी लिथियम आयोनको यात्रामा सहरी क्षेत्रमा केही हदसम्म सफल भएका छौं । अब पहिलेभन्दा धेरै रेञ्जमा गुडाउन सकिने र प्रिमियम कार ल्याउन हाम्रो प्रयास रहने छ ।’
महिन्द्रा सबै इलेक्ट्रीक उत्पादन नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ । कम्पनीका यी उत्पादनलाई नेपालमा अग्नी इनर्जीले बिक्री गर्दै आएको छ ।


Back_to_top