काठमाडौं । महिन्द्राको नयाँ जेनेरेशन थारले भारतमा बम्पर बुकिङ पाएको छ । कम्पनीले ५ दिनमा ९ हजार बुकिङ पुगेको विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।
अफरोड एसयूभीको नामले परिचित नयाँ जेनेरेशन थार निकै आकर्षक डिजाइन र थप लग्जरी फिचरका साथ भारतमा सार्वजनिक भएको थियो । नेपालको लागि महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले नयाँ जेनेरेशन थार तिहारपछि मात्रै नेपाल ल्याउने तयारी गरिरहेको छ ।
‘भारतमा यसको उच्च माग रहेको छ । हामी तिहारपछि नेपालमा यसको बिक्री सुरु गर्ने छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
सुरुवात देखिनै चर्चामा रहेको महिन्द्राको नयाँ जेनेरेशन थार दुई इन्जिन अप्सनमा ग्राहकले खरिद गर्न सक्ने छन् । यसमा २.२ लिटर एमहक डिजल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यसमा पहिलो पटक कम्पनीले पेट्रोल इन्जिन दिएको हो ।
यसमा रहेको डिजल इन्जिनले अधिकतम १३० बीएच पावर र ३०० एनएम टर्क प्रदान गर्छ भने पेट्रोल इन्जिनले १५० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।
निकै प्रिमियम फिचर दिइएको नयाँ जेनेरेशन थारमा इन्फोटेन्टमेन्ट सिस्टम, एयरव्याग, एबीएस, इबीडी जस्ता फिचर दिइएको छ । विभिन्न ६ कलर अप्सनमा उपलब्ध थार अहिले निकै चर्चामा रहेको अफ रोड एसयूभी हो ।

