पुरानो मोटरसाइकल दिएर नयाँ कार चढ्ने अफर, डाउन पेमेन्ट गर्नु नपर्ने

काठमाडौं । तपाईसँग पुरानो मोटरसाइकल छ भने तपाईले कारसँग सट्टापट्टा गर्न पाउनु हुने भएको छ । मारुती सुजुकीले यो नौलो अफर ल्याएको हो ।

कम्पनीले ल्याएको अफर अनुसार तपाईले चढिरहनु भएको पुरानो मोटरसाइकललाई डाउन पेमेन्टको रुपमा बुझाएर नयाँ अल्टो वा एस प्रेसो कार खरिद गर्न सक्नु हुने छ ।

यस अफरमा कुनैपनि ग्राहकले आफ्नो मोटरसाइकलको मूल्याङ्कन गराएर शोरुमलाई बिक्री गर्न सक्ने छन् । उक्त शोरुमले बाहिर गराएको मूल्याङ्कन भन्दा २५ हजार थप रकम दिएर तपाईको मोटरसाइकल खरिद गर्ने जानकारी दिएको छ ।

मोटरसाइकल बिक्री वापतको रकम पनि तपाईले फिर्ता पाउनु हुने छ । कारको सम्पूर्ण रकम तपाईले ८ वर्ष भित्र तिरिसक्नु पर्ने हुन्छ ।

बिना डाउन पेमेन्ट खरिद गर्न सक्ने एस प्रेसो र अल्टोको स्टायडर्ड भेरियन्टको अहिले बजार मूल्य क्रमश २३ लाख ४९ हजार र १८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार कार खरिद गर्ने ग्राहकले अल्टोको लागि मासिक २८ हजार ९९४ रुपैयाँ र एस प्रेसोको लागि ३५ हजार २८६ रुपैयाँ तिर्नु पर्ने हुन्छ । कम्पनीले ९.२५ प्रतिशत व्याजदरमा नै अटो कर्जा उपलब्ध हुने जानकारी दिएको छ ।

अल्टो ८०० सीसीको कार हो भने एस प्रेसो दुबै ९९८ सीसी क्षमताको इन्जिन दिइएको कार हो ।


Back_to_top