काठमाडौं । स्क्राम्लर डिजाइनको मोटरसाइकलमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ । विश्व चर्चित मोटरसाइकल ब्राण्ड बेनेली र हस्कभर्ना बीचमा यो सेग्मेन्टमा कडा टक्कर हुने देखिएको हो ।
दुबै यूरोपियन ब्राण्ड हुन् । बेनेली इटलीयन ब्राण्ड हो भने हस्कभर्ना स्वीडेनको ब्राण्ड हो । यी दुई कम्पनीको बीचमा सुरु भएको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।
यदि तपाई स्क्राम्लर मोटरसाइकलको खोजीमा हुनुहुन्छ भने तपाईलाई यी दुबै मोडल आकर्षक हुन सक्छ । हस्कभर्नाले स्भर्टपिलेन २५० र भिट्पिलने २५० को बिक्री सुरु गरेको छ भने बनेलीले टीएनटी २५१ र लियन्सीनो २५० लामो समय अघिदेखि बिक्री गर्दै आएको छ ।
हस्कभर्ना र लियन्सीनो २५० झट्ट हेर्दा उस्तै देखिने स्क्राम्लर डिजाइनका दुई मोटरसाइकल हुन् । २५० सीसी सेग्मेन्टमा स्क्राम्लर मोटरसाइकल यी दुई मोटरसाइकल बीच रहेको भिन्नता यस्ता छन् ।
इन्जिन
बेनेली लियन्सीनो २५० मा २४९ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९२५० आरपीएममा २५.२ बीएचपी पावर तथा ८००० आरपीएममा २१.२ एनएम टर्क जेनेरेट गर्छ ।

यस्तै हस्कभर्ना स्भर्टपिलेन २५० मा २४८.८ सीसी इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ । यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिइएको छ । पावरको कुरा गर्दा हस्कभर्ना पावरफुल देखिएको छ ।
माइलेज
हस्कभर्ना स्भार्टपिलने २५० मा ९.५ लिटर क्षमताको फ्यूल ट्याङक रहेको छ । यो मोटरसाइकलले ३५ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । त्यस्तै बेनेली लियोन्सीनो २५० मा १२.५ लिटर क्षमताको फ्यूल ट्याङक रहेको छ । यो मोटरसाइकलले ३७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ ।
फ्यूल क्षमताको कुरा गर्दा माइलेज तथा स्टोरेज क्षमतामा बेनेली केहि अगाडि देखिएको छ ।
डाइमेन्सन
बनेली लियोन्सीनो २५० को लम्बाई २०३० एमएम, चौडाई ८४० एमएम, उचाई १११५ एमएम, ह्वीलबेस १३८० एमएम रहेको छ । यस्तै यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ ।

त्यसैगरि हस्कभर्ना स्भर्टपिलेन २५० को लम्बाई २०५० एमएम, चौडाई ७३० एमएम, उचाई ८१० एमएम, ह्वीलबेस १३५७ एमएम रहेको छ । यस्तै यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।
सस्पेन्सन
हस्कभर्ना स्भर्टपिलेनको फ्रन्टमा ४३ एमएमको यूएसडी फर्क रहेको छ भने लियोन्सीनो २५० मा ४१ एमएमको यूएसडी फर्क रहेको छ । हस्कभर्नाको रियरमा मोनोशक सस्पेन्सन रहेको छ भने बेनेलीमा प्रि–लिडेड एड्जष्टेवल सस्पेन्सन पाउन सकिन्छ ।
अन्य फिचर
यी दुबै मोटरसाइकलमा एबीएस सहित डबल डिस्क ब्रेक रहेको छ । यी दुबैमा एलइडी लाइट्स, १७ इन्च अलोय ह्वील, डिजिटल इन्स्टुमेन्ट कलष्टर रहेको छ ।
मूल्य
बेनेली लियोन्सीनो २५० को मूल्य ६ लाख ३० हजार रुपैयाँ रहेको छ भने हस्कभर्ना स्भर्टपिलेन २५० को मूल्य ५ लाख ७० हजार रुपैयाँ रहेको छ ।

