डाट्सनले आगामी हप्ता आफ्नो सबैभन्दा कम मूल्यको ह्याचव्याक कार बजारमा उतार्ने भएको छ । यसअघि ०.८ लिटर इन्जिनमा समेत बिक्री गर्दै आएको रेडी गो अब १.० लिटरमा मात्रै बिक्री गर्ने भएको हो ।
डाट्सन रेडी गोको फेसलिफ्ट मोडल भारतमा अगस्टबाट बिक्री सुरु भएको थियो । यसलाई चाडपर्वको अवसर पारेर नेपालको लागि आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले बिक्री सुरु गर्न लागेको हो । कम्पनीले चाँडोमा अक्टोबर ९ तारिख वा ढिलोमा ११ तारिखसम्ममा बिक्री सुरु गर्ने जानकारी दिएको छ ।
‘गाडी काठमाडौं आउने क्रममा रहेको छ । अबको केहि दिन भित्र बिक्री सुरु गर्ने छौं’, कम्पनीका डिजिएम ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
उनका अनुसार कम्पनीले नयाँ रेडी गोको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । साथै, कम्पनीले यसमा विशेष छुटको अफर समेत गरेको चन्दले जानकारी दिए ।
‘सुरुवाती ५० ग्राहकलाई ७५ हजार नगद छुट दिने तयारी गरेका छौं । यसमा नियमित छुट ५० हजार रुपैयाँ रहेकोमा सुरुवाती ५० ग्राहकलाई थप ७५ हजार छुट दिने निर्णय गरेका हौं’, चन्दले भने ।

दुबै स्कीम जोड्दा ग्राहकले नगद १२५ हजार छुट प्राप्त गर्ने छन् भने कम्पनीले २५ हजार मूल्यको एक थान मोवाइल फोन, २५ हजार बराबरको बीमा र एक आर्थिक वर्षको सवारी कर तिरिदिने छ ।
कम्पनीले डाट्सन रेडी गोमा ३ वर्षको वारेन्टी र ३ वर्षकै निःशुल्क सर्भिस अफर पनि गरेको छ ।
यस्तो छ नयाँ रेडी गो
नयाँ रेडी गो पहिलेको तुलना स्पोर्टी र नयाँ फिचर थप भएर आएको छ । यसको ग्रिलसँगै एल सेपमा डिआरएलएस दिइएको छ । स्किड हेडल्याम्पलाई सिल्भर कलरले सजाइएको छ । एलइडी फगल्याम्प, १४ इन्चको अलोय ह्वील, डुअल टोन कलर अप्सन, एलइडी सिग्नेचर टेलल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।
रेडी गो फेसलिफ्ट सेग्मेन्टमा सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको गाडी हो । यसमा १८७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । इन्टेरियरलाई पनि उत्कृष्ट बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।
कम्पनीले यसमा क्र्यास रेसिस्टेड बडी स्चक्चर दिएको जनाएको छ । यसअघि १.० लिटर इन्जिनसहितको रेडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेकोमा नयाँ गाडीको मूल्य २ लाख रुपैयाँले बढाइएको छ ।

