महिन्द्राको ७० वर्ष पुरानो मोडलको नयाँ जेनेरेशन सार्वजनिक, यस्तो छ यात्रा (फोटो कथा)

काठमाडौं । सन् १९४९ मा महिन्द्राले सार्वजनिक गरेको ‘सिजे ३ ए’ महिन्द्राको पहिलो एसयूभी थियो । यही गाडीमा समावेस धेरै फिचर अहिले पनि थारमा पाउन सकिन्छ ।

त्यतिबेला जीपसँगको सहकार्यमा महिन्द्राले ल्याएको अफरोड एसयूभी ‘सिजे ३ ए’ भारतमा निकै सफल भएको थियो । ग्रामिण भेगदेखि पहाडका सडकमा समेत सजिलै जानसक्ने भएकाले त्यतिबेलाका सिनेमामा यसको व्यापक प्रयोग भएको थियो ।

महिन्द्राले उत्पादन सुरु भएको ४ वर्षपछि सन् १९५३ मा ‘सिजे ३ बी’ भेरियन्ट बजारमा ल्याएको थियो । यसमा कम्पनीले पहिलो पटक ‘विल्स हुराकेन’ इन्जिन दिएको थियो । यो इन्जिन निकै पावरफुल थियो । त्यतिबेला नयाँ इन्जिनको साथ खुल्ला छानोको प्रयोग गरिएको थियो ।

लामो समय यी मोडलको बिक्री गरेपछि कम्पनीले १९८५ मा ‘एमएम ५४०’ मोडल बजारमा ल्याएको थियो । यसअघिको मोडल ढोका थिएन भने यसमा ढोकाको प्रयोग गरिएको थियो । ढोकासहित आएको कारण यो एसयूभी पहिलेभन्दा बढी सुरक्षीत थियो । त्यति बेलानै यसमा एसी दिइएको थियो ।

त्यसको ११ वर्षपछि यसलाई नयाँ लुक्समा परिमार्जन गरेर बजारमा ल्याइयो । सन् १९९६ मा ‘महिन्द्रा क्लासिक’को नामबाट यसलाई कम्पनीले बजारमा ल्याएको हो । यसलाई अफ रोड वा अन रोड दुबैमा उत्कृष्ट पर्फमेन्स गर्नेगरि बजारमा ल्याइएको थियो ।

महिन्द्राले क्लासिक बजारमा ल्याएको १४ वर्षपछि यसको नयाँ नामसहित परिमार्जित मोडल बजारमा ल्याएको थियो । सन् २०१० मा ‘महिन्द्रा थारको नामबाट बजारमा आएको अफरोड एसयूभी नेपालमा पनि निकै चर्चित बनेको थियो । २०१५ मा थारमा कम्पनीले नयाँ सुरक्षा फिचर थप गरेको थियो । त्यस्तै २०१९ मा ‘थार ७००’ एडिसन बजारमा ल्याएको थियो ।

नयाँ जेनेरेशन थार २०२० आज सार्वजनिक

७० वर्ष पुरानो मोडलको नयाँ जेनेरेशन महिन्द्राले आज सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ जेनेरेशन थारमा पेट्रोल डिजेल दुबै इन्जिन दिएको छ । यसमा यसअघि डिजेल इन्जिन मात्रै उपलब्ध रहेको थियो । अब ग्राहकले पेट्रोल इन्जिन सहितको थारसमेत किन्न पाउने छन् ।

कम्पनीले नयाँ थारलाई आधुनिक फिचरले भरिपूर्ण गरेर बजारमा ल्याएको छ । सुरक्षा हिसावले निकै चुस्त रहेको नयाँ जेनेरेशन थारमा मनोरञ्जन र आरामदायी यात्राको लागि थुप्रै फिचर दिइएको छ ।


Back_to_top