सुरक्षामा अब्बल देखियो एक्सयूभी सेभेन एक्सओ, पायो फाइभ स्टार रेटिङ

काठमाडौं । महिन्द्राको चर्चित एसयूभी एक्सयूभी सेभेन एक्सओ सुरक्षामा अब्बल देखिएको छ । एक्सयूभी सेभेन एक्सओ भारत एन क्यापको नयाँ क्रयास टेस्टमा उत्कृष्ट प्रदर्शन गर्दै फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो ।

सुरक्षाका दृष्टिले कडा मानिने यस परीक्षणमा एक्सयूभी सेभेन एक्सओले वयस्क र बाल सुरक्षा दुवै श्रेणीमा उच्च अंक पाएको हो । यसले आफूलाई बजारमा सुरक्षित गाडीका रूपमा प्रमाणित गरेको हो।

भारत एनक्यापले सार्वजनिक गरेको नतिजा अनुसार एक्सयूभी सेभेन एक्सओले वयस्क सुरक्षा तर्फ कुल ३२ अंकमा ३०.७६ अंक प्राप्त गरेको छ । जुन मुख्य क्र्यास टेस्टको अधिकतम अंकभन्दा मात्र १.२४ अंकले कम हो। गाडीले अगाडिको भाग ठोक्किने परीक्षणमा १६ मा १४.७६ अंक र साइडबाट ठोक्किने परीक्षणमा पूर्ण १६ मा १६ अंक हासिल र्गयो। साथै, साइड पोल इम्प्याक्ट परीक्षणमा पनि यस गाडीको प्रदर्शनलाई ‘ओके’ अर्थात् उत्कृष्ट मानिएको छ।

बाल सुरक्षातर्फ भने गाडीले ४९ अंकमा ४४.९७ अंक ल्याएको छ। १८ महिना र ३ वर्षका बालबालिकाको डमी प्रयोग गरी गरिएको परीक्षणमा यसले डाइनामिक क्र्यासतर्फ २४ मा २३.९७ अंक ल्याउँदै लगभग शतप्रतिशत नतिजा निकालेको छ।

दोस्रो पङ्क्तिका बाहिरी सिटहरूमा बच्चाको सुरक्षाका लागि आइएसओ फिक्स र आइ साइज माउन्टिङ पोइन्टहरू मानक रूपमा उपलब्ध गराइएका छन्।

परीक्षणका लागि २,०५९ किलोग्राम तौल भएको एएक्स ७ डिजेल टु ह्वील र एएक्स ७ एल डिजेल फोरह्वील मोडल प्रयोग गरिएको थियो । तथापि, यो रेटिङ एक्सयूभी सेभेन एक्सओका अन्य सबै भेरियन्टहरूमा लागू हुनेछ ।

कम्पनीले यो एसयूभीमा सुरक्षाका लागि अगाडि, साइड, पेलभिस र कर्टेन एयरब्यागसहित इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पैदल यात्री सुरक्षा र सिटबेल्ट रिमाइन्डर जस्ता सुविधाहरू उपलब्ध गराएको छ ।


Back_to_top