महिन्द्रा ‘बिग ड्याडी अफ एसयूभी’, दुई वर्षमा ३ चमत्कार

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले सन् २०१९ को अन्त्यदेखि नयाँ जेनेरेशन स्कर्पियोको विषयमा विभिन्न कोणबाट वहस गराएको थियो । सन् २०२० को सुरूवातसँगै भारत पनि कोभिड १९ को चपेटामा आयो । फलतः कम्पनीले आफ्नो चल्तीको मोडललाई नयाँ जेनेरेशन ल्याउनुभन्दा नयाँ मोडल ल्याउनु उचित सम्झियो र सन् २०२१ मा एक्सयूभी ७०० बजारमा आयो ।

एक्सयूभी ७०० अहिले पनि भारतमा सर्वाधिक वेटिङ पिरियड भएको गाडी हो । अहिले पनि बुकिङ गरेर बसेका ६० हजारभन्दा बढी ग्राहक एक्सयूभी ७०० सँग छ । महिन्द्राले कोभिड १९ को सुरूवातमा नै बजारमा ल्याएको नयाँ जेनेरेशन थारको क्रेज अझ उस्तै छ । अहिले पनि भारतमा करिब ४० हजार ग्राहक थार कुरेर बसेको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

सन् २०२२ को सुरूवातमा नै बजारमा आउने अनुमान गरिएको नयाँ जेनेरेशन स्कर्पियोलाई कम्पनीले नयाँ मोडल नेम ‘स्कर्पियो एन’ नाम दिएर बजारमा ल्यायो । अहिले पनि यसको आधिकारिक विक्री भने सुरू भएको छैन ।

महिन्द्रा एण्ड महिन्द्राले हिजो नयाँ स्कर्पियो एनको अनलाइन बुकिङ खुल्ला गरेको थियो । कम्पनीले जुन २७ तारिखमा भारत, नेपाल र साउथ अफ्रिकाबाट एक साथ यसलाई देखाएको थियो । त्यतिबेला भारतमा भने भेरियन्ट र मूल्य घोषणा भएको थियो ।

महिन्द्राले जुलाइ ३० तारिखमा बुकिङ खुल्ला हुने र सुरूवाती मूल्य ११ लाख ९९ हजार रहने त्यति बेला नै घोषणा गरेको थियो । नयाँ स्कर्पियो एन पेट्रोल इन्जिनमा जेड २, जेड ४, जेड ८ र जेड ८ एल भेरियन्टमा सार्वजनिक गरेको थियो । पेट्रोलमा टप भेरियन्टको मूल्य १८ लाख ९९ हजार कायम भएको थियो ।

त्यसैगरी, डिजेल इन्जिनमा जेड २, जेड ४, जेड ६, जेड ८ र जेड ८ एलगरी ५ भेरियन्टमा उपलब्ध हुने जानकारी दिएको थियो । डिजेल इन्जिन भएको भेरियन्टको मूल्य १२ लाख ४९ हजारदेखि १९ लाख ४९ हजारसम्म तोकिएको थियो । कम्पनीले यो मूल्य स्कर्पियो एनका सुरूवाती २५ हजार बुकिङकर्ताले मात्रै पाउने जनाएको थियो ।

हिजो बिहान ११ बजे बुकिङ खुल्ला भएको एक मिनेट भित्रै स्कर्पियो एनको बुकिङ २५ हजार यूनिट पूरा भएको कम्पनीले जनाएको छ । बुकिङ खुल्ला भएको ३० मिनेटमा १ लाख यूनिट बुकिङ पार गरेसँगै कम्पनीले बुकिङ नै बन्द गरेको छ । अब बुकिङ गर्ने ग्राहकले कलर, भेरियन्ट लगायत छनोट गर्नुपर्ने महिन्द्राले जनाएको छ ।

दुई वर्ष तीन चमत्कार

सन् २०२० महिन्द्राको टर्निङ प्वाइन्ट बन्यो । विशेषतः निकै प्रतिस्पर्धी भारतीय बजारमा महिन्द्रा निकै पछाडि धकेलिएको थियो । कम्पनीले आफूलाई पीकअप सेग्मेन्टमा मात्रै केन्द्रीत गरेको आरोप लाग्न थालेको थियो । त्यति बेला प्रतिस्पर्धी टाटा, हुन्डाई र नव प्रवेशी कियाले बजारमा सनसनी मच्चाएका थिए ।

एसयूभी सेग्मेन्टमा एक्सयूभी ३०० प्रतिस्पर्धीको तुलनामा कमजोर बन्दा महिन्द्रालाई केही समस्या थियो । तर, उसले एक्सयूभी ३०० फिचर लोडेड बनाएको कारण आफ्नो उत्पादन क्षमता अनुसार नै विक्री गर्दै आएको थियो । त्यसपछि आएको नयाँ जेनेरेशन थारले महिन्द्राको लिगेसीलाई बलियो मात्रै बनाएन बजारमा ‘वाऊ’ भन्न थालियो ।

पहिलो पटक डिजेल र पेट्रोल इन्जिनको साथै, हार्ड टप र सफ्ट टप अप्सनमा उपलब्ध भएको कारण यसलाई चाहनेहरू बढे । महिन्द्राले यसको पनि बजार माग अनुसार अहिलेसम्म सप्लाइ गर्न सकेन । परिणामतः अहिले पनि ठूलो संख्यामा गाडी कुर्नेहरू भारतमा छन् । भारत बाहेक नेपाल, भुटान जस्ता देशमा पनि थार कुर्नेको संख्या उल्लेखिय भेटिन्छ ।

त्यसपछि सन् २०२१ मा आएको एक्सयूभी ७०० ले नयाँ बेन्चमार्क तयार गर्यो । इन्जिन त यसमा पनि थारकै समान भनौं वा एउटै थियो । तर, यसको बडी डिजाइन, सुधारिएको इन्टेरियरदेखि लोगोसम्मले धेरैको मन जित्न सफल भयो । एक्सयूभी ७०० पनि अहिले धेरैले प्रतिक्षा गरिरहेको मोडल हो ।

‘बिग ड्याडी अफ एसयूभी’ स्लोगनसहित आएको स्कर्पियो एनको अवस्था पनि उस्तै छ । यी तीन नयाँ मोडलले महिन्द्रालाई एसयूभी किङ नै बनाएको छ ।

चमत्कार चाख्न नपाएको नेपाल

महिन्द्राले भारतमा जुन हिसाबको चर्चा र वाहवाही पाएको छ नेपालमा भने त्यसको स्वाद आयातकर्तादेखि उपभोक्ताले चाख्न पाएका छैनन् । थार यसअघि पनि नेपालमा विक्री हुँदै आएको मोडल हो । यद्यपि, नयाँ थार अहिलेसम्म नेपाल आउन सकेको छैन ।

आधिकारिक वितरक अग्नी इनकर्पोरेट प्रालिले नाडा अटो शो २०२२ मा नेपाल ल्याउने घोषणा गरेको एक्सयूभी ७०० पनि आयात प्रतिबन्धको कारण आउन सकेन ।

नेपालमा सर्वाधिक सफल स्कर्पियोको नयाँ मोडल भने कम्पनीले भारत र नेपालमा एकै साथ सार्वजनिक गरेको कारण आयात खुल्ला भएसँगै आउने अपेक्षा गर्न सकिन्छ ।

 


Back_to_top