मनाङ । विक्रम सम्बत २०३७ साल फागुन १७ गते (सन् १९८१ फेब्रअरी २८) बाट संचालमा आएको हुम्दे एयरपोर्ट अहिले लथालिङ अवस्थामा छ । मनाङ जिल्लाको मुख्य यातायाताको काम गर्दै आएको अपर मनाङ क्षेत्रमा रहेको यो एयरपोर्ट अहिले पनि उडान गर्न मिल्ने अवस्थामा देखिन्छ ।
निर्माणको समयमा विश्वकै अग्लो स्थानमा निर्माण भएर नागरिकलाई सेवा प्रदान गरेको यो एयरपोर्ट इतिहास बनेको छ । समुन्द्री सतहबाट ३३५३ मिटर (११ हजार फिट) उचाईमा रहेको यो एयरपोर्टले करिब ३२ वर्ष मनाङ आवतजावत गर्ने र स्थानीयवासीलाई सेवा दिएको थियो ।
अहिले यो एयरपोर्टको सुरक्षामा हुम्देमा ९ जना दरबन्दी सहितको प्रहरी टोली परिचालन गरिएको छ । तर, त्यहाँ नियमित उडान नहुने भएको कारण पैदल वा गाडीबाट अपर मनाङ जाने पर्यटकको अभिलेख राख्ने काम गरिरहेको भेटिन्छन् ।
‘विगत १० वर्षमा मुस्किलले ४/५ उडान भएको छ । पछिल्लो पटक इजरायलले आफ्ना अपाङ्गता भएका नागरिकलाई प्लेनबाट अपर मनाङ ल्याएको थियो । कहिलेकही हेलिकप्टर पनि आउँछ । तर, प्लेन आउनै छाडेको छ’, डिउटीमा रहेका बरिष्ठ प्रहरी हवल्दारले भने ।
हुम्दे एयरपोर्टभन्दा अग्लो स्थानमा रहेको तिब्बतको साइगेट पीस एयरपोर्ट हो । यो समून्द्री सतहबाट ३७८२ मिटरको उचाईमा छ । यसको निर्माण सन् १९७३ मै भएको भएपनि सेनाको प्रयोग र नियन्त्रमा थियो । पछि सन् २०१० बाट मात्रै यसको प्रयोग सर्वसाधारणको लागि पनि उपलब्ध गराएको हो ।

अहिले संचालनमा रहेको एयरपोर्ट मध्ये क्वाम्दो बाम्दा एयरपोर्ट सबैभन्दा अग्लो स्थानमा रहेको छ । समुन्द्री सतहबाट ४ हजार ३३४ मिटर अग्लो स्थानमा रहेको यो एयरपोर्ट सन् २०१३ बाट संचालनमा आएको छ । सबै तथ्यले आमनागरिकले प्रयोग गर्न पाउनेगरी बनेको विश्वकै अग्लो स्थानमा बनाइएको हुम्दे एयरपोर्टको संरक्षण र संचालनमा सरकार र सरोकारवालाको ध्यान जान सकेको छैन ।
बेसीसहरबाट अपर मनाङ जाने बाटो खोलेपछि प्लेन आएको आफुहरुले नदेखेको मनाङवासीको भनाई छ ।
‘यो बाटो खुलेदखि म यहाँ गाडी चलाई रहेको छु । प्लेन आउँदैन । विदेशी पर्यटक पनि यहाँ आउदा गाडी चढ्दैनन् । खराब बाटो र नचल्ने एयरपोर्ट यहाँको नियती हो’, महिन्द्रा बोलेरोका चालक खुसी थापाले भने ।
पर्यटन, जडीबुटी र प्रकृतिक सम्पदाले भरिपूर्ण मनाङ कमजोर सडक पूर्वाधार र इतिहास बोकेको बन्द एयरपोर्ट हेर्दै मुस्कुराई रहेको छ ।


