काठमाडौं । ओलाको इलेक्ट्रीक स्कुटर एस १ प्रोको फ्रन्ट सस्पेन्सन फेरि भाँचिएको छ । यसअघि पनि ओला इलेक्ट्रीक स्कुटरको फ्रन्ट सस्पेन्सन भाँचिएको समाचार बाहिर आएको थियो ।
यो घटना भारतमा घटेको हो । ओला विभिन्न कारणले निकै चर्चामा रहेको इलेक्ट्रीक दुईपांग्रे सवारी साधन हो । एकैदिन १ लाख बुकिङ हुनेदेखि विभिन्न समयमा आगलागी तथा सस्पेन्सन भाँचिनेसम्मको घटनाले ओलाको चर्चा हुँदै आएको छ ।
ओलाका सीईओ भाविश अग्रवालले केही दिनअघि मात्रै २२ अक्टोबरमा नयाँ स्कुटर सार्वजनिक गर्ने बताएका थिए । हालै घटेको घटनामा संजीव जैनले ओला एस १ प्रो डेलिभरी लिएको १ हप्ता नपुग्दै सस्पेन्सन भाँचिएको हो ।
उनले सामाजिक संजालमार्फत उक्त घटनाको जानकारी दिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । जैनका अनुसार सामान्य स्पीड ब्रेकरमा ठोक्किएर एस १ प्रोको सस्पेन्सन भाँचिएको हो ।
यसरी चलाइरहेको अवस्थामा सस्पेन्सन भाँचिनु आफैंमा राम्रो होइन । यो घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ भने ओलाको क्वालिटीमा सवाल उठेको छ ।


