ठूलो ब्याट्री भएको सस्तो कार ‘एमजी-फोर’, दुई भेरियन्टमा कति फरक ?

काठमाडौं । नाडा अटो शो २०२३ मा पहिलो पटक नेपाल आएको एमजी-फोर उत्कृष्ट मोडल भएर पनि सुरुवाती दिनमा राम्रो ब्यापार गर्न सकेन । फुल अप्सन भेरियन्ट र इन्ट्री भेरियन्टको बीचमा १७ लाख मूल्य फरक रहेको कारण धेरैले यसमा ध्यान दिएनन् ।

सन् २०१९ बाट नेपाली बजारमा एमजीले ईभी बिक्री गर्दै आएको भएपनि पहिलो डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको एमजी-फोर कन्सेप्ट डिजाइन सार्वजनिक भएदेखि नै चर्चा थियो । धेरैले यसको बाहिरी लुक्सलाई इटालीयन सुपर कार लेम्बर्गीनी उरुससँग मिल्दु जुल्दो रहेको बताए ।

अहिलेसम्म लेम्बर्गीनीका कारहरु नेपालमा त छैनन्, तर एमजी-फोरको रोड प्रेजेन्स भने लेम्बर्गीनीलाई विर्साउने खालको छ । त्यसमाथि ठूलो ब्याट्री साइज भएको ५० लाखभन्दा कम मूल्यको इलेक्ट्रीक कार बनेको छ । यसमा ६४ किलोवाट आवरको ब्याट्री छ ।

नेपालका लागि एमजीको आधिकारीक बिक्रेता प्यारामाउण्ट मोटर्सले सुरुवातमा १५० किलोवाटको मोटरमा एमजी-फोर नेपाल ल्याएको कारण मूल्यमा धेरै फरक थियो । पछि ९९ किलोवाटको मोटरमा आएसँगै दुबै भेरियन्टको मूल्य ५० लाखभन्दा कम भएको छ ।

प्रिमीयम ह्याचव्याक सेग्मेन्टमा रहेको एमजी-फोर कम्फर्ट र लग्जरी गरी दुई वटा भेरियन्टमा उपलब्ध छ । झट्ट हेर्दा दुई भेरियन्टमा खासै फरक नदेखिए पनि फिचरदेखि ब्याट्री साइजसम्म भिन्नता पाउन सकिन्छ ।

एमजी-फोर कम्फर्टको मूल्य ४१ लाख ९९ हजार र लग्जरीको ४९ लाख ९९ लाख रहेको छ ।

डायमेन्सन र ह्वील साइजमा फरक

साइजका हिसावले दुबै भेरिएन्टको लम्बाई ४२८७ एमएम, चौडाई २०६० एमएम, उचाई १५०४ एमएम समान छ । दुबै मोडल २७०५ एमएमको ह्वील वेसमा बनेको हो । दुबै भेरियन्टमा फाइभ लिड्क इन्डीभीजुअल सस्पेन्सन रहेकोले ड्राइभीङ क्वालीटी र कम्फर्टमा कुनै फरक छैन ।

तर, एमजी-फोर कम्फर्टमा १७ इन्चको ह्वील रहेको छ भने लग्जरीमा १८ इन्चको ह्वील पाउन सकिन्छ । त्यहि कारण दुई भेरियन्टमा ग्राउण्ड क्लियरेन्समा केही फरक हुन सक्छ ।

इक्युपमेन्टमा फरक

एमजीले दुबै भेरियन्टमा एडाप्टीप क्रुज कन्टोल, एमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ट्राफिक जाम असिस्ट, स्पीड लिमिट, इन्टेलीजेन्ट हाइबीम असिस्ट, ड्राइभर असिस्टेन्ट अलर्ट जस्ता फिचर दिएको छ ।

व्लाइण्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, रियर क्रस ट्राफिक अलर्ट तथा डोर ओपनीङ वार्निङ भने लग्जरी भेरियन्टमा मात्रै छ ।

सुरक्षा फिचरमा फरक

एमजी४ ले विभिन्न देशहरुमा भएको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । यसको सबै मोडलहरुमा इबीडी सहितको एबीएस, ६ वटा एयरव्याग, टीपीएमएस, इएसपी, हिल लन्च असिस्ट, इबीए, सिटबेल्ट रिमाइन्डर, फ्रन्ट तथा रियर डिस ब्रेक जस्ता फिचर छन् ।

बाहिरी बनावटमा फरक

एमजी-फोर कम्फर्टमा एलइडी प्रोजेक्टर हेडलाइट छ भने लग्जरीमा रिफ्लेक्टीभ टेक्नलोजी सहितको एलइडी प्रोजेक्टर हेडलाइट छ । त्यस्तै, लग्जरीमा हिटेड तथा इलेक्ट्रीक रिट्रयाकेबल ओआरभीएम छ । कम्फर्टमा म्यानुअल ओआरभीएम मात्रै छ । कारको पछाडि भागमा लग्जरी भेरियन्टमा कनेक्टेड लाइटबार रहेको छ भने कम्फर्टमा छैन ।

कम्फर्ट र कन्भीनीयन्समा फरक

एमजी-फोर लग्जरीमा थ्रीडी साउण्ड सिस्टम सहितको ६ वटा स्पीकर छ । कम्फर्टमा ४ वटा स्पीकर मात्र पाउन सकिन्छ । लग्जरीमा स्टलाइट न्याभीगेसन सिस्टम, वायरलेस मोवाइल चार्जर तथा ३६० डिग्री क्यामरा रहेको छ । कम्फर्टमा रियर भ्यू क्यामरा मात्र रहेको छ ।

लग्जरीमा ड्राइभर साइडमा सिक्सवे इलेक्ट्रीक एड्जस्टेवल सिट तथा हिटेड फ्रन्ट सिट पाउन सकिन्छ ।

ब्याट्री प्याक तथा रेन्जमा फरक

एमजी-फोर कम्फर्टमा ५१ किलोवाट अवारको व्याट्री प्याक छ । जबकी लग्जरी भेरियन्टमा ६४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । त्यसैले कम्फर्ट भेरियन्टको डब्लुएलटीपी रेन्ज ३५० किलोमिटर र लग्जरी भेरियन्टको ४३५ किलोमिटर रहेको छ ।

कम्फर्ट भेरियन्टले ८५ किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ भने लग्जरीले १०० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ ।

दुबै मोडलमा समान ९९ किलोवाटको रियर ह्वील ड्राइभ इलेक्ट्रीक मोटर रहेको छ । दुबैको पावर १३५ पीएस तथा २५० न्यूटन मिटरको टर्क रहेको छ । दुबै कारको म्याक्सीमम स्पीड १६० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top