कम मूल्यका उत्कृष्ट ईभी बेच्ने ब्राण्ड एमजी, यसरी बदल्दै छ बजार

काठमाडौं । मोरिस ग्यारेज (एमजी) नेपालको लागि नयाँ ब्राण्ड होइन । त्यसमा पनि सन् २०१९ मै विद्युतीय कार बजारमा ल्याएर एमजीले कम मूल्यको ईभी खोज्नेको लागि नयाँ विकल्प दिँदै आएको हो ।

एमजीले सुरूमा नेपाल ल्याएको जेडएस ईभीले ५१ लाख रुपैयाँमै दिएर नयाँ रेकर्ड बनायो । त्यतिबेला नेपालमा ईभी किन्न ५५ देखि ६५ लाख तिर्नुपर्ने समयमा थियो । एमजीले जेडएस ईभी ५१ लाख रुपैयाँमै ल्याएका कारण बजारमा छिट्टै प्रभाव पार्न सफल भयो । त्यसले एमजीलाई नेपाली अटोमोबाइल बजारमा अलग पहिचान दियो ।

भारतमा उत्पादन भएका धेरै कम्प्याक्ट एसयूभीकै साइजमा उपलब्ध जेडएस ईभीको सफलतासँगै एमजीले थप मोडल नेपालमा ल्यायो । आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभीपछि एमजी फोर र भारतमा उत्पादन भएको कोमेट ईभी नेपाल ल्यायो । त्यसपछि भारतमा बनेको विन्डसर र यही वर्ष चीनमा उत्पादन भएको एस फाइभ ईभी ल्याएको हो ।

पारामाउन्ट मोटर्सले भारतमा बनेको एमजी कोमेट १८ लाख रुपैयाँबाटै बिक्री सुरू गरेको थियो । कम मूल्यमा फरक डिजाइनको सिटी कार खोज्नेको लागि उत्कृष्ट मोडलको सुरूमा कोमेट ईभीले अलग पहिचान बनायो । अहिले पनि कोमेटको बिक्री उत्कृष्ट छ ।


अर्को मोडल एमजी फोर यूरोपमा सर्वाधिक बिक्री हुने मोडल हो । तर, नेपाली बजारमा निकै राम्रो मूल्य राखेर बिक्री गरे पनि सोचे जस्तो ठूलो सफलता यसले पाउन सकेन । खासगरी उपभोक्ताले एमजी फोर ईभी बुझ्न नसक्दा वा कम्पनीले बुझाउन नसक्दा यसको बिक्री कमजोर बन्यो ।

तुलनात्मक सुरूमा राम्रो एमजी फोरभन्दा बीवाइडी डल्फिनको बिक्री उच्च बन्यो । त्यसले एमजी फोरको बिक्रीमा धक्का लाग्यो । खासगरी, निकै आक्रमक डिजाइन, ठूलो ब्याट्री, ठूलो साइज, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन, रियर ह्वील ड्राइभ, एडास फिचर जस्ता कुरा उपभोक्ताले नबुझ्दा एमजी फोरको बिक्री राम्रो नभएको हो ।

उपभोक्तामैत्री मूल्य

एमजीले आफ्नो सबै मोडल उपभोक्तामैत्री मूल्यमा बिक्री गर्दै आएको छ । धेरैले एमजीको मूल्यलाई ‘प्राइसवार’ भन्ने गरेका छन् । तर, पारामाउन्ट मोटर्सका अनुसार यो उपभोक्तालाई फाइदा हो ।

एमजीले सधै मूल्यको विषयमा उपभोक्तालाई केन्द्रमा राखेर काम गर्दै आएको बताउँदै कम्पनीका जनरल मेनेजर सुनिल क्षेत्री भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा घट्दो ईभीको मूल्यको फाइदा उपभोक्ताले पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले हरेक नयाँ मोडल ल्याउँदा हामी आक्रमक मूल्य राख्छौं । यसले अन्य प्रतिस्पर्धीहरू पनि चुनौती थपिएको अनुभव गर्न पाइन्छ ।’

पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी होस्, या कोमेट ईभी वा एमजी आइएम सिक्स जस्तो प्रिमियम एसयूभीको मूल्य निकै लोभलाग्दो राख्दै आएको छ । त्यसैले एमजी नेपालमा कम मूल्यका मोर्डन र आकर्षक डिजाइनका विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्दै आएको छ ।

ब्राण्डसँगै सर्भिस बलियो पक्ष

एमजी बेलायती डिएनए भएको ब्राण्ड हो । १०० वर्षभन्दा बढीको उत्पादन अनुभव हासिल गरिसकेको ब्राण्डका उत्पादन युरोपियन बजारमा सफल मानिन्छ । अहिले एमजीसँग ईभीमा साइबरस्टर जस्तो कन्भर्टेबल मोडलदेखि सानोमा कोमेट ईभीसम्मका मोडल नेपाली बजारमा छन् ।

सन् २०१५ मा चिनियाँ सरकारी स्वामित्वको एसएआइसी ग्रुपले मोसिर ग्यारेज ब्राण्ड खरिद गरेसँगै यसको उत्पादन चीनमो संघाई सहरमा हुन थाल्यो । त्यसमा पनि बढ्दो ईभीको प्रभावसँगै कम्पनीले ईभी उत्पादनमै आफूलाई तीव्र गतिमा अगाडि बढाउँदा १० वर्षमै बलियो ब्राण्डको सुरूमा स्थापित हुन सफल भएको हो ।


नेपालमा सुरूवाती दिनमा सर्भिसको केही मुद्दा बाहिर आए पनि अहिले त्यस्तो समस्या समान भएको उपभोक्ताहरूको बुझाइ छ । सुरूमा गाडी तीव्र गतिमा बिक्री बढ्दा सर्भिस नेटवर्क थप्न समस्या भएको थियो । अब काठमाडौंमा ३ र अन्य सबै सहरमा बिक्री केन्द्रसँगै सर्भिस सेवा पनि उपलब्ध रहेको महाप्रबन्धक सुनिल क्षेत्रीले जानकारी दिए ।

‘सर्भिसदेखि हरेक कुरामा हामीले राम्रो काम गरिरहेका छौं । हिजो सर्भिसमा केही गुनासा आएका थिए । त्यसलाई सम्बोधन गर्नेगरी काम चलिरहेको छ । सर्भिसमा नतिजा आउन समय लाग्छ । सबै उपभोक्ता सन्तुष्ट बनाउनेगरी हामीले काम गरिरहेका छौं’, महाप्रबन्धक क्षेत्रीले भने ।

सर्भिसलाई ध्यानमा राखेर काम गरेको बताउँदै क्षेत्री भन्छन्, ‘पछिल्लो दिनमा स्पेयर पार्टस्को मूल्य समायोजन गरेका छौं । गाडीको सर्भिसिङको लागि कुर्नु पर्ने अवस्था लगभग अन्त्य भएको छ । अब उत्कृष्ट उत्पादन, राम्रो मूल्यमा बेच्दै कमजोर पक्ष बलियो बनाउने योजनाका साथ हामी अगाडि बढेका छौं ।’

अझै अगाडि उज्वल भविष्य

अहिलेसम्म एमजीको रफ्तार तीव्र्र भए पनि अझै अगाडिको बाटो उज्वल देखिन्छ । कम्पनीले छिट्टै थप मोडल बजारमा ल्याउने रणनीति बनाइरहेको छ । अहिले बजारमा रहेको एस फाइभ एसयूभीको सफलतापछि लगभग उस्तै डिजाइनमा ह्याचब्याक एमजी फोर बजारमा आउने भएको हो ।

नयाँ एमजी फोर अझै आकर्षक मूल्यमा उपलब्ध हुने कम्पनी स्रोतले बतायो । कम्पनीले सन् २०२६ को फेब्रुअरीसम्ममा नयाँ एमजी फोर नेपाल ल्याउने छ । यसका अलवा भारतमा उत्पादन हुने साना ईभी र चीनमा उत्पादन हुने नयाँ मोडल पनि नेपाल ल्याउने छ ।

समग्रमा आधा दर्जन मोडल सहित एमजीले आफ्नो बिक्रीमा थप गियर हाल्दै अगाडि जाने अनुमान गर्न सकिन्छ । त्यसको लागि एमजी ब्राण्ड बुझाउने, मूल्य, टेक्नोलोजी र भ्यालु फर मनी उत्पादनको विषयमा उपभोक्तालाई जानकारी दिने मध्यमहरू पहिल्याउनु पर्ने चुनौति कम्पनीलाई छ ।


Back_to_top