सर्भिसमा लगानी बढाउदै एमजी, इलेक्ट्रीक एसयूभी ल्याउने तयारी तिब्र

काठमाडौं । बेलायती ब्रान्ड एमजी नेपाली बजारमा भित्रिएको तीन वर्ष लागेको छ । बुटवल, बिर्तामोड र काठमाडौं तीन स्थानमा रहेको डिलरसिप र सर्भिस सेन्टर मार्फत कम्पनीले सेल्स, सर्भिस र स्पेयर पाटर्सको सुविधा दिदै आएको छ । 

नेपालको लागि एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले आकर्षक र उच्च पर्फमेन्स भएका कार बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आफ्ना ग्राहकलाई उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको दाबी गरेको छ । 

हालसम्म कम्पनीले नेपाली बजारमा दुईसय भन्दा बढी कार बिक्री गरिसकेको जानकारी दिएको छ ।  खरिदकर्ताबाट राम्रो प्रतिक्रिया पाएको जनाउँदै कम्पनीले आफ्टर सेल्स सर्भिसमा पनि कुनै कन्जुस्याई नगरेको दाबी गर्छ । 

कम्पनीका सर्भिस हेड जया यादवले दैनिक तीनदेखि पाँच वटा गाडि सर्भिसिङको लागि आउने जानकारी दिए । काठमाडौंको धुम्बाराही स्थित सर्भिस सेन्टरबाट दैनिक पाँच वटासम्म गाडि सर्भिस गर्ने गरेको उनले बताए । 

‘हामीले दैनिक पाँच वटासम्म गाडि सर्भिसिङ गर्ने गर्छाै । आफ्टर सेल्स सर्भिसमा ग्राहकबाट हालसम्म नकरात्मक प्रतिक्रिया आएको छैन । ग्राहकको प्रतिक्रियालाई सहज रुपमा लिई सुविधा प्रदान गर्नेछौं,’ उनले भने ‘आगामी दिनमा सर्भिसिङको सुविधालाई अझै चुस्त बनाउने प्रयास गरिरहेका छौं ।’ स्पेयर पार्टसको उपलब्धता सहज रहेको उनले बताए । 

धुम्बाराहीमा रहेको सर्भिस सेन्टरमा ३ वटा वे राखिएका छन् भने १० जना दक्ष कामदरले सर्भिसिङको सुविधा प्रदान गर्दै आएका छन् । सर्भिस सेन्टरले ग्राहकलाई सहज होस भन्ने उद्देश्यले फास्ट सर्भिसिङको सुविधा दिँदै आएको छ । फास्ट सर्भिसिङ अन्र्तगत  एकदेखि डेढ घन्टाभित्र कार सर्भिसिङको काम सम्पन्न हुने दाबी कम्पनीको छ । गाडीको समस्यालाई मध्यनजर गर्दै समयसिमा निर्धारण गर्ने गरिएको उनले बताए ।

सर्भिस हेड यादब समयानुकूल ग्राहकलाई सेवा दिने उद्देश्यसहित २४ घन्टे सुविधाको व्यवस्था गरेको बताउँछन् । आकर्षक र विशेष सुविधाअन्तर्गत ग्राहक लाउन्जको व्यवस्था गरिएको छ । सर्भिस सेन्टरले मोबाइल सर्भिसिङको सुविधासमेत प्रदान गर्दै आएको छ । 

यस्तै कामदारलाई हरेक शुक्रबार नयाँ विषयवस्तु माथि छलफल गराइन्छ भने, समय समयमा ट्रेनिङको व्यवस्था समेत कम्पनीले गराउँदै आएको छ । नेपाली बजारमा झन्डै तीन वर्षदेखि विभिन्न मोडलको बिक्री गर्दै आएको यो कम्पनी गाडी बिक्रीमा मात्र होइन आफ्टर सेल्स सर्भिसबाट पनि  ग्राहकको मनमा बस्न सफल भएको छ । 

कम्पनीका बजार व्यवस्थापक स्मिथ तिमल्सीना एमजी ब्रान्डले छोटो समयमा राम्रो बजार पकड्न सफल भएको बताउँदै आगामी दिनमा पनि ग्राहकको अपेक्षा, बजारको माग र आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्ने बताउँछन् । 

नयाँ सर्भिस सेन्टर र नयाँ इलेक्ट्रीक कार

कम्पनीले बढ्दो बजारलाई ध्यानमा राख्दै नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै पोखरा र नारायणघाटमा नयाँ सर्भिस सेन्टर स्थापना गर्ने तयारी गरिहेको छ । एमजी जेडएक्स, र जीएस दूईवटा एसयूभी बिक्री गर्दैै आएको कम्पनीले नयाँ इलेक्ट्रीक मोडल भित्र्याउने योजना बनाएको छ । 

तिमल्सीनाले आगामी तीन महिना भित्र इभी मोडल इ–जेडएक्स नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय इलेक्ट्रीक भेइकल प्रतिको आकर्षण तथा आवश्यकतालाई ध्यानमा राख्दै इ–जेडएक्स ल्याउने तयारी गरेको बताए । 


Back_to_top