एमजी विन्डसर टेष्ट ड्राइभ : नेपालको लागि पर्फेक्ट सीयूभी

काठमाडौं । एमजी विन्डसर ईभी भारतमा निकै सफल कम्प्याक्ट युटीलिटी भेहिकल हो । विन्डसरको बिक्री सुरु भएसँगै एमजीले भारतमा रेकर्ड कार बिक्री गर्दै आएको छ ।

भारतमा औषतमा मासिक ४ देखि ५ हजार कार बिक्री गर्ने एमजीले अहिले ७ हजार ५ सय यूनिट माथिको बिक्री पाउन थालेको छ । त्यसको पहिलो र मुख्य कारण नै विन्डसर ईभी हो । विन्डसर भारतमा सर्वाधिक विक्री हुने विद्युतीय मोडलको सूचीमा अग्रस्थानमा आउन थालिसकेको छ ।

निकै चर्चा र चासोका साथ हेरिएको विन्डसर ईभीलाई हामीले भारतको राजधानी नयाँ दिल्लीमा टेष्ट ड्राइभ गर्ने मौका पायौं । निकै ब्यस्त र अत्यास लाग्दो ट्राफिक भएको नयाँ दिल्लीमा एमजी मोटर इन्डियाले टेष्ट ड्राइभको ब्यवस्था मिलाएको थियो ।

हामीले झण्डै २८ किलोमिटर टेष्ट ड्राइभ गरेका थियौं । त्यतिवेला हाम्रो ध्यान कारको पर्फर्मेन्स र लग्जरीको मामलामा कस्तो छ भन्ने हेर्नमै वित्यो । दिल्लीको अस्तब्यस्त ट्राफिकमा पनि सहज ड्राइभिङ दिन सक्षम विन्डसर चालक र यात्रु दुबैको लागि सहज मेसिन देखियो ।

विन्डसर स्मुद ह्याण्डलिङ, इन्स्ट्यान्ट पावर र आरामदायी सिटको कारण चालक र यात्रु दुबैलाई खुसी बनाउन सक्षम छ । भारतमा निजी र भाडाको साधन दुबैमा उत्तिकै रुचाउन थालिएको गाडी अर्को महिनाको अन्तिमसम्ममा नेपाली बजारमा पनि उपलब्ध हुने कम्पनी स्रोतले जानकारी दियो ।

अहिले बीवाइडी डल्फीन बिक्री भइरहेको सेग्मेन्टमा उपलब्ध विन्डसरको पनि सिधा प्रतिस्पर्धा डल्फीनसँग नै हुनेछ । उक्त प्रतिस्पर्धामा कसले बाजी मार्ला ? अहिल्यै एकिन गर्न कठिन भएपनि प्रतिस्पर्धा रोचक हुने कुरामा दुईमत छैन ।

के–के छ विन्डसर ईभीमा ?

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । सहरी क्षेत्रमा परीक्षण गर्दा यसले ३२७ किलोमिटरसम्म रेन्ज दिएको पाइन्छ ।

विन्डसरमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस र सबै लाइटहरु एलइडी प्रयोग भएको छ । अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर इलेक्ट्रीक तयार पारिएको छ । यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

कम्पनीले यसलाई लग्जरी बनाउन पछाडिको सिट १३५ डिग्रीसम्म डल्काउन सकिने गरी तयार गरेको छ । नयाँ विन्डसरमा निकै ठूलो पानारोमिक ग्लास रुफ दिइएको छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन छ ।

वायरलेस चार्जर, अटोमेटीक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेविलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।


Back_to_top