काठमाडौं । प्रोटोन ब्राण्डमा नेपाल आउने ‘इमास-७’ इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले नेपाल ल्याउने इमास–७ को दुई भेरियन्टको मूल्य सार्वजनिक भएको हो ।
कम्पनीका अनुसार ६०.२२ किलोवाट आवरको ब्याट्रीप्याक भएको इमास-७ को अधिकतम मूल्य ६८ लाख ९० हजार रुपैयाँ र ४९.५२ किलोवाट आवर ब्याट्रीप्याक भएकाको ५८ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ ।
कम्पनीले ठूलो क्षमातको ब्याट्री भएको मोडललाई म्याक्स र सानो ब्याट्री भएको मोडललाई लाइट नाम दिएको छ । दुवै मोडलमा १६० किलोवाट क्षमताको मोटर उपलब्ध छ ।
यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ । प्रोटोनका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पूरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिने कम्पनीको दाबी छ ।
दुवै भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर दिइएको छ । यसको पीकटर्क भने ३२० न्यूटन मिटर छ । इमास-७ ले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेण्ड मात्रै लगाउने छ । एसयूभीको टप स्पीड १७५ किलोमिटर प्रतिघण्टा छ ।
इमास-७ एसयूभीमा टु स्पोक स्टेरिङ ह्वील, १० इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको सेन्टर इन्फोटेनमेन्ट स्क्रीन, १३ इन्चको हेडअप डिस्प्ले, वायरलेस फोन चार्जर पाउन सकिन्छ ।
प्रोटोनले यसमा दुई लेभलको सेन्टर कन्सोल, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, पानारोमिक सनरुफ, २५६ कलरको एम्बीयन्ट लाइट, पावर टेलगेट जस्ता फिचर समेटेको छ । भेन्टीलेटेड एण्ड पावर फ्रन्ट सिट, १६ वटा स्पीकर र लेभल २ एडास फिचर यसमा दिइएको छ ।
मलेशियन ब्राण्ड प्रोटोनमा जिली ग्रुपको ५१ प्रतिशत लगानी रहेको छ । त्यसैले आफ्नो ग्यालेक्सी ई-५ लाई कम्पनीले इमास-७ नामबाट प्रोटोनको ब्याचमा ल्याएकाे हो । दक्षिण एशियासहितका राइट ह्याण्ड ड्राइभ भएका देशमा प्रोटोन इमास-७ उपलब्ध हुनेछ ।

