काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको आगामी वर्षको बजेटबाट विद्युतीय कारमा ब्यापक कर वृद्धि गरेसँगै नेपाल कै सर्वाधिक सफल इलेक्ट्रीक एसयूभीको मूल्य करिब २० लाख रुपैयाँले बढ्ने भएको हो ।
यसअघि १५ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्दै आएको एमजी जेडएस इभीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको थियो । तर, अब यसमा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने छ ।
मानौ, एमजीको जेडएस इभी स्टाययर्ड भेरियन्ट ३१ लाख खरिद मूल्यमा आउँथ्यो भने पहिला त्यसमा १५ प्रतिशत भन्सार वापत ४ लाख ६५ हजार लाग्थ्यो । अब ३० प्रतिशत भन्सार बनाएको कारण त्यसमा ९ लाख ३० हजार भन्सार लाग्ने छ ।
यसअघि अन्तशुल्क लाग्दैन थियो । तर, अब ३० प्रतिशत अन्तःशुल्क लाग्छ । ४० लाख ३० हजारको अन्तःशुल्क १२ लाख ९ हजार रुपैयाँ हुन्छ । अन्तःशुल्क जोडिएपछि गाडीको मूल्य ५२ लाख ३९ हजार पुग्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) वापत ६ लाख ८१ हजार ७० रुपैयाँ तिर्नु पर्छ । भ्याट रकम तिरेपछि गाडीको मूल्य ५९ लाख २० हजार ७० रुपैयाँ पुग्छ । अब, यसमा सडक निर्माण दस्तुर जोडिन्छ । सडक निर्माण दस्तुर वापत ५ प्रतिशत कर लाग्छ । त्यो भनेको २ लाख ९६ हजार ३ रुपैयाँ हो । यी सबै कर जोड्दा गाडीको मूल्य ६२ लाख १६ हजार ७३ रुपैयाँ पुग्छ ।
यसमा शोरुम, ब्राण्डिङ, ब्याज, कर्मचारी, प्रशासनिक खर्च, डिलर कमिशन लगायतका सबै खर्चपछि आयातकर्ताको नाफा जोड्दा गाडीको मूल्य करिब ७३ लाख रुपैयाँ पर्न आउने देखिन्छ ।
सरकारले १०० किलोवाट क्षमतासम्मका मोटर जडान भएको गाडीमा कर बढाएको छैन, भने त्योभन्दा माथि क्षमताका सबै विद्युतीय गाडीमा मूल्य बढाइएको छ ।
एमजीले नेपाल ल्याउने स्टायडर्ड भेरियन्टमा १३० किलोवाट र लङ रेन्ज मोडलमा ११४ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यसैले यी दुबै मोडल महंगो कर लाग्ने मोडलमा परेको हो ।

