उस्तै मूल्यका दुई इलेक्ट्रीक कार, डिजाइन र फिचरमा कति फरक ?

काठमाडौं । विद्युतीय कार मोडलहरु बढ्दै गएसँगै ग्राहकले पनि राम्रै संख्यामा छनोट पाउन थालेका छन् । फरक र पृथक डिजाइन भएका कारहरु एउटै मूल्यमा किन्न पाइन थालेका छन् ।

केही अघिसम्म सिमित मोडल मात्रै उपलब्ध बजारमा अहिले मिनी ईभी, ह्याचव्याक, क्रसओभर, एसयूभी सबै सेग्मेन्टमा किन्न पाइन्छ । यसले ग्राहकलाई आफ्नो आवश्यकता अनुसारका उत्पादन छनोट गर्न दिएको छ ।

अहिले बजारमा चल्तीका इलेक्ट्रीक कारहरु २० लाखदेखि ६५ लाखसम्मका छन् । ती मध्ये आज हामीले यहाँ चर्चा गर्न खोजेका दुई मोडल एक अर्काका प्रतिस्पर्धी भने होइनन् । तर, मूल्य भने लगभग उस्तै छन् ।

चिनियाँ ब्राण्ड चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडाको पहिलो क्रसओभर एसयूभी ई-५ र एमजीको चर्चित प्रिमियम ह्याचव्याक एमजी फोर लग्जरी भेरियन्ट बीच रहेका फरकलाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

मूल्यमा ५० हजार फरक

एमजी फोर लग्जरी भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ छ । नाडा अटो शो २०२३ बाट नेपालमा सार्वजनिक भएको एमजी फोरको सुरुवाती भेरियन्ट भने ४१ लाख ४९ हजारबाटै बिक्री हुँदै आएको छ ।

ओमोडा ई-५ मोडल केही दिनअघि मात्रै नेपालमा सार्वजनिक भएको हो । यसको अहिले पनि ग्राहकलाई डेलिभरी सुरु भएको छैन । अहिले बुकिङ खुल्ला रहेको ई-५ को मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यी दुई मोडलमा केबल ५० हजार को अन्तर छ ।

साइज

दुबै इलेक्ट्रीक कार प्योर ईभी प्लेटफर्ममा बनेका हुन् । दुबैले चालकसहित ५ जना यात्रुलाई आरामदायी यात्रा गराउन सक्छन् ।

ओमोडा ई-५ को लम्बाई ४४२४ एमएम, चौडाई १८३० एमएम, उचाई १५८८ एमएम छ । यसमा २६३० एमएमको ह्वीलवेस पाउन सकिन्छ । १८ इन्चको अलोय ह्वील र १८० एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले यसलाई निकै प्रतिस्पर्धी सेग्मेन्टमा अब्बल बनाएको छ ।

त्यस्तै एमजी फोरको लम्बाई ४२८७ एमएम, चौडाई १८३६ एमएम, उचाई १५१६ एमएम छ । ह्वीलवेस भने २७०५ एमएम लामो पाउन सकिन्छ । यसमा पनि १८ इन्चको अलोय ह्वील छ । यसमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । ओमोडाभन्दा एमजी फोरमा चौडाई र ह्वीलवेस बढि छ । ग्राउन्ड क्लियरेन्स, लम्बाई र उचाईमा ओमोडा अगाडि देखिन्छ ।

ब्याट्री र रेन्ज

ब्याट्री साइजमा एमजी फोर केही अगाडि देखिन्छ । यसमा ६४ किलोवाट आवर क्षमताको ब्याट्री छ । जबकी ओमोडा ई-५मा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ ।

ई-५ले ८० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । एमजी फोर लग्जरीले भने १०० किलोवाट क्षमताको फास्ट चार्जर सपोर्ट गर्छ । ओमोडा ई-५को डब्लुएलटीपी रेन्ज ४३० किलोमिटर छ भने एमजी फोरको डब्लुएलटीपी रेन्ज ४३५ किलोमिटर रहेकोे छ ।

पावर

पावरमा एमजी फोर निकै अगाडि छ । एमजी फोरमा १५० किलोवाट पीकपावरको मोटर छ । त्यो भनेको २०४ पीएस हो । यसको पीक टर्क भने २५० एनएम रहेको छ ।

ओमोडा ई-५ मा ९९ किलोवाटको मोटर छ । त्यो भनेको १३५ पीएस पावर हो । यसको टर्क भने ३४० न्यूटन मिटर छ ।

एमजी फोरले ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघन्टा छ । ओमोडा ई-५ ले ९.२ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्न सक्छ ।

फिचर

अत्याधुनिक सुरक्षा फिचरले सुसज्जीत दुबै ईभीले ग्लोबल, युरोप तथा अष्ट्रेलियन एनक्याप सेफ्टी रेटिङमा ५ स्टार रेटिङ पाएका छन् । अमोडा ई-५ मा एडास २.५ लेवलको १५ थरी सेफ्टी फिचर दिइएको छ ।

क्यावीन फिचरको रुपमा ओमोडा ईभीमा ड्यूल जोन अटोमेटिक एसी, इलेक्ट्रीक सनरुफ, २४.६ इन्चको ड्यूल स्कृन, ५४० डिग्री क्यामरा, मल्टीकलर एम्वीयन्ट लाइट, सोनीको ८ स्पीकर सहितको म्यूजीक सिस्टम दिइएको छ ।

त्यसैगरी, भेन्टीलेटेड सिट, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, स्टेरिङ माउण्टेड कन्ट्रोल, वायरलेस चार्जिङ प्याड, स्मार्ट भोइस असिस्ट, भेहिकल टु लोड फङ्सन, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, हिटेड रियर भ्यू मिरर यसमा पाउन सकिन्छ ।

एमजी फोर लग्जरीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ७ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, १०.२५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, हिटेड स्टेरिङ ह्वील, ५ फरक ड्राइभिङ मोड, ३६० डिग्री पार्किङ, ६ स्पीकर सहितको थ्रीडी साउण्ड सिस्टम दिइएको छ ।

त्यस्तै, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, वायरलेस मोवाइल चार्जिङ प्याड, स्टेरिङ माउन्टेड कन्ट्रोल, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट रहेको छ ।


Back_to_top