युरोपको सहरी क्षेत्रको सडकमा ५६ वर्ष अगाडि गुड्ने बबल कारको पुल आगमन भएको छ । यसअघि यो चीप र चियरफूल सिम्बोल चर्चित मोडल बीएमडब्लूले एक लाख ६० हजार उत्पादन गरी बन्द गरेको थियो ।
यो कार स्वीजरल्याण्डका दुई दाजुभाई ओलिभर र मर्लिनले यो इलेक्ट्रीक मोडलमा बनाएका हुन् । यो कारको स्याम्पल बजारमा देखिएपछि सात हजार २०० अर्डर भइसकेको छ । यसमा पुरानो सिङ्गल सिलिन्डर इञ्जिनको सट्टामा २० हर्सपावरको इलेक्ट्रीक मोटर लगाइएको छ भने यसको पुरानो चर्चित फ्रन्ट ओपनिङ डोरलाई भने कायमै राखिएको छ ।
सामान्यतया दैनिक कामका लागि मोर्डन कारहरू धेरै ठूला हुन्छन् । यस्ता ठूला कारबाट सहज सानो आकारको कारमा सहरी क्षेत्रमा एक वा दुई व्यक्ति सवार भएर २५ देखि ३० किलोमिटर यात्रा गर्न यो निकै उपयोगी हुने अनुमान गरिएको छ ।
यसको रेञ्ज १२० किलोमिटरको छ भने टपस्पीड ८८ किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई चार्ज गर्न चार घण्टा लाग्ने र एकपटकको फुलचार्ज गर्न जम्मा १.५ यूरो लाग्ने जनाइएको छ ।
यसको मुख्य विषेशता भनेकै यसको साइज हो । जम्मा आठ फिट लम्बाई रहेको यो कार सानो ठाउँमा पनि पार्क गर्न सकिन्छ । यसको निर्माणमा धेरैवटा दैनिक काममा प्रयोग नहुने फिचर र स्वीचहरू हटाइएको जानकारी दिइएको छ ।
यसले सहरी क्षेत्रका जाम, पार्किङ स्पेस तथा वातावरण जोगाउन सघाउ पुर्याउने उनीहरूले बताएका छन् ।


