काठमाडौं । नाडा अटो शोमा रहेका २ लाख ५० हजारदेखि तीन लाख रुपैयाँसम्मका बाइकहरु थुप्रै कम्पनीहरुले शोकेस गरेका छन् । यसरी युवाको रोजाइमा रहने बजाज, टीभीएस, सुजुकी, होन्डा, यामाहालगायतका ब्रान्डले निकै जोसका साथ बाइकलाई प्रस्तुत गरेका छन् ।
आज नाडा अटो शोको अन्तिम दिन भएकाले अटो शो हेर्नेको भिडनै लाग्ने अनुमान गरिएको छ । युवालाई लोभ्याउन कम्पनीहरुले एकसे एक प्रडक्टहरु डिस्प्ले गरेकाले बाइक किन्ने सोच बनाउनेलाई एकै स्थानमा गएर सबै मोडलको बारेमा जानकारी लिएर आफुलाई बाइक छनोट गर्न सहज हुनेछ ।
टीभीएस अपाची आरटीआर १६० ४भि

टीभीएस बाइकका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नाडा अटो शोमा आफ्नो मिड रेन्ज मोटरसाइकल टीभीएस अपाची आरटीआर १६० फोर भी४ राखेको छ । रेसिङका लागि लोकप्रीय ब्रान्ड मानिएको आरटीआर १६० भी ४मा अत्यन्त शक्तिशाली १६० सीसी इन्जिन रहेको छ । नेपाली बजारमा २ लाख ८५ हजार ९ सयरुपैयाँ मूल्य कायम गरिएको यो बाइक आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध रहेको छ ।
होन्डा एक्सब्लेड
होन्डाको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रडिङले अटो शोमा एक्सब्लेड मोडल सार्वजनिक गरेको छ । होन्डाको एक्स–ब्लेडमा विभिन्न नयाँ फिचर उपलब्ध रहेका छन् । एक्सब्लेडको नाम जस्तै यसको लुक्स पनि सार्प छ ।

यो मोटरसाइकलमा फुल एलइडी हेडलाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरजस्ता अत्याधुनिक फिचर उपलब्ध रहेका छन् । होन्डा एक्सब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ । यसमा रेजर जस्तै किनारा भएको एलईडी टेल ल्याम्प छ, जसका कारण आफूभन्दा पछि आइरहेको अन्य सवारीसाधनले यसलाई राम्रोसँग देख्न सक्छन् । यसमा सार्प डिजाइनको इन्धन ट्यांकी छ । जसका कारण अन्य बाइकको ट्यांकीभन्दा फरक देखिन्छ । नेपाली बजारमा यसको मुल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
पल्सर १५० आर ट्वाइन डिस्क
नेपालको लागि बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सर डबल डिस्क मोडललाई अटो शोमा शोकोस गरेको ट । करिब १ महिना अगाडि आएको पल्सर १५० ट्वीन डिस्क बजाजको स्टलमा सर्वाधिक चासो ब्यक्त गरिएको बाइकसमेत हो ।

यसको मुल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ । युवादेखि वृद्धसम्मका लागि आरामदायी सवारीको आनन्द लिनकालागि पल्सर १५० ट्विन डिस्क उपयुक्त हुने कम्पनीको दाबी रहेको छ । उत्कृष्ट माइलेज, आधुनिक एवं आकर्षक डिजिटल मिटर, डबल डिस्क ब्रेकिंग क्षमता, वाइड ट्युबलेस टायरहरु र स्पोर्टीलुक्स यसको मुख्य विशेषता रहेको छ । यो मोटरसाइकल तीन रंगमा उपलब्ध रहेको छ ।
सुजुकी जिक्सर
सुजुकी मोटर्सका लागि नेपालको आधिकारिक वितरक भीजी सुजुकीले जिक्सरलाई विशेष प्राथमिकता दिएर शोकेस गरेको थियो । कम्पनीले यसको मुल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

पावर, माइलेज र डिजाइन तीनै विशेषताले पूर्ण जिक्सर बाइक स्पोर्टी बाइकको रुपमा परिचित छ । स्पोर्टी लुकमा रहेको १५५ सीसीको क्षमताको इन्जिन दिइएको छ । जिक्सरले ६२ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी रहेको छ ।
टेकेन मोट्राक

टेकेन लागि नेपालको आधिरकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नाडा अटो शोमा आफ्नो मोट्राक मोडललाई निकै आर्कषकसँग राखेको छ । यसको मुल्य २ लाख ५० हजार तोकिएको छ । यसमा लगाइएको ४ सिलिन्डर फोर स्ट्रोक एयर कुल्ड इन्जिन दिइएको छ । यस बाइकको उच्चगति ८७ किलोमिटर प्रतिघन्टा रहेको छ ।
टिएनटी १३५
बेनेलीका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनलले नाडा अटो शोमा आफ्नो सबैभन्दा सस्तो मोटरसाइकल टिएनटी १३५ राखेको छ । यसको मुल्य २ लाख ७५ हजार रपैयाँ रहेको छ ।

यो मोडलमा १३४.७ सीसीको इन्जिन प्रयोग गरिएको छ । ७.२ लिटर क्षमताको इन्धन ट्याङ्क, डबल डिस्क ब्रेक यसमा उपलब्ध रहेको छ । रातो, सेतो र कालो रंगमा आएको यो एउटा सानो बाइक हो, जसमा ठूलो बाइकमा हुने फिचर र टेक्नोलोजी जडान भएको छ ।

