काठमाडौं । भारतीय मिडसाइज एसयूभी बजारमा मारुती सुजुकी ग्राण्ड भिटाराले लन्च भएको ६ महिनामै कुल बजारको एकचौथाई हिस्सा ओगट्न सफल भएको छ ।
ग्राण्ड भिटाराले भारतीय बजारमा मिडसाइज एसयूभीको २५.९५ प्रतिशत हिस्सा पूर्याएकाे हो । फेब्रुअरीमा कुल ३५ हजार ३८३ मिडसाइज एसयूभी बिक्री भएकोमा भिटारा मात्रै ९ हजार १८३ यूनिट बिक्री भएको छ ।
जनवरीमा ८ हजार ६६२ युनिट बिकेको ग्राण्ड भिटाराको बिक्री फेब्रुअरीमा ६.०१ प्रतिशतले बढेकाे हो । गत वर्षकाे नोभेम्बरदेखि ग्राण्ड भिटारको बिक्री लगातार बढ्दै गएको छ ।
सुजुकी ग्राण्ड भिटारामा भएको सेग्मेन्ट फस्ट स्ट्रङ हाइब्रिड टेक्नलोजीले धेरै ग्राहकहरू आकर्षित भएका हुन् ।
फेब्रुअरीमा भिटाराको बिक्री बढे पनि अन्य मुख्य प्रतिस्पर्धीहरूको भने घटेको छ । फेब्रुअरीमा सबभन्दा धेरै क्रेटाले आफ्नो बजार हिस्सा गुमाएको छ । सन् २०२३ को जनवरीमा १५ हजार ३७ वटा बिक्री भएको क्रेटा फेब्रूअरीमा बिक्री ३०.७० प्रतिशतले घट्दै १० हजार ४२१ मा सीमित भएको हो ।

विगत लामो समयदेखि सेग्मेन्टको टप सेलर रहेको क्रेटाले आफ्नो टप पोजिसन गुमाउने संकेत देखिएको छ । फेब्रुअरीमा क्रेटाको बजार हिस्सा २९.४५ प्रतिशत भएको छ जुन जनवरीमा ३५.१४ प्रतिशत रहेको थियो ।
त्यसैगरी बजार हिस्सा गुमाउनेमा कियाको सेल्टसको २३.४८ प्रतिशत, टोयोटा हाइराइडरको २१.१५ प्रतिशत तथा स्कोडा कुशकको ११.४३ प्रतिशत रहेको छ ।
भारतीय मिडसाइज एसयूभी बजारमा निसानको किस्स फेब्रुअरीमा एक यूनीट पनि बिक्री भएको छैन । निसानले मार्चबाट उत्पाद बन्द गर्ने घोषणा गरिसकेको निसान किक्सको बिक्री गत वर्षको नोभेम्बरमा जम्मा ३ यूनीट भएको थियो । भारतीय बजारमा सन् २०२२ को डिसेम्बर तथा २०२३ को जनवरी र फ्रैब्रूअरीमा किक्सको बिक्री शून्यमा झरेको हो ।



