एसयूभीमा ७० देखि ९० लाख खर्च गर्नेलाई छनोट धेरै, दुई नयाँ मोडल थपिए

काठमाडौं । नेपालमा महंगो मूल्य तिरेर गाडी किन्नु पर्ने अवस्था छ । यस्तोमा ठिक ठाकको एसयूभी किन्न चाहने ग्राहकले ७० देखि ९० लाख रुपैयाँ खर्च गर्ने हो भने धेरै अप्सनमा गाडी छनोट गर्न सक्ने छन् ।

अहिले बजारमा ७० लाखदेखि ९० लाख रुपैयाँसम्मका एसयूभी विक्री गर्ने कम्पनीमा महिन्द्रा, हुन्डाई, टाटा, जीप, डिएफएसके, किया, एमजी, टोयोटा लगायतका छन् ।

यी सबै कम्पनीले विक्री गर्ने अधिकांश गाडी टु ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेका छन् भने यी गाडीहरु निकै आरमदायी र सुरक्षीत पनि रहेका छन् । तर, महिन्द्राको एक्सयूभी ५०० मा भने फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ ।

विभिन्न कम्पनीले बजारमा ल्याएका मिडसाइज एसयूभीहरु अहिले चर्चामा रहेका छन् । यहि सेग्मेन्टमा नयाँ गाडीहरु बजारमा धमाधम आउन थालेका छन् । यस्तोमा हामीले हरेक कम्पनीले विक्री गर्ने एउटा मोडललाई यहाँ उल्लेख गरेका छौं ।

जीप कम्पास यी मध्ये सबैभन्दा महंगो मोडलको रुपमा रहेको छ । कम्पनीले ल्याएको फेसलिफ्ट मोडल कम्पासमा १.४ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । कम्पासको ९० लाखभन्दा तल अहिले एउटा मात्रै भेरियन्ट उपलब्ध रहेको छ । कम्पास स्पोर्टस् भेरियन्टको मूल्य ८४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसको फोर ह्वील ड्राइभ भेरियन्ट पनि उपलब्ध छ । तर, यसको मूल्य ९० लाखभन्दा माथि पर्छ ।

टाटाको एच ५ महंगो एसयूभीमा पर्छ । सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्ने टाटा एच ५ विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य एक्सजेड प्लस भेरियन्टको ८४ लाख ९९ हजार, एक्सजेड ए भेरियन्टको ८५ लाख ९९ हजार र एक्सजे ए प्लस भेरियन्टको ८९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसमा २.० लिटर इन्जिन प्रयोग गरिएको छ ।

डिएफएसकेले हिजो मात्र नेपाल ल्याएको ग्लोरी आई–अटोको मूल्य ८९ लाख ५० हजार रुपैयाँ रहेको छ । पहिलो ७ सिट क्षमताको इन्टेलिजेन्ट एसयूभी भनिएको आई–अटोमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।

हुन्डाईको चर्चित एसयूभी टुसान नेपाली सडकमा कुनै समय सर्वाधिक विक्री भएको एसयूभी हो । अहिले पनि टुसानको विक्री ठिक ठाक रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले विक्री वितरण गर्दै आएको टुसानको मूल्य ७९ लाख ९६ हजार रुपैयाँ रहेको छ । टुसानमा २.० लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।

महिन्द्राको एक्सयूभी ५०० उत्कृष्ट प्रिमियम एसयूभीमा पर्छ । २.२ लिटर एमहक इन्जिन रहेको एक्सयूभी ५०० को एम ११ भेरियन्ट फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहेको छ । यसको मूल्य ८७ लाख ३० हजार रुपैयाँ तोकेर अग्नी इन्कर्पोरेटले विक्री गर्दै आएको छ ।

किया सेल्टोसको जीटी लाइन भेरियन्टपनि महंगो मोडलमा पर्छ । १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध सेल्टोसको मूल्य ७६ लाख ९० हजार रुपैयाँ रहेको छ ।

एमजीले नेपाल ल्याएको नयाँ एसयूभी एचएस पनि यो सेग्मेन्टको अर्को प्रतिस्पर्धी हो । एचएसको विक्री भने कम्पनीले सुरु गरेको छैन । एचएसमा १.५ लिटर टर्बो इन्जिन दिइएको छ । यसको मूल्य पारामाउन्ट मोटर्सले ७९ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री सुरु गर्न लागेको छ ।

टोयोटाले नेपालमा विक्री गर्दै आएको रस अर्को चल्तीको एसयूभी हो । यूनाइडेड ट्रेडर्स सिन्डिकेट प्रालिले विक्री गर्ने सरमा पनि १.५ लिटर क्षमताको इन्जिन उपलब्ध रहेको छ । यसको मूल्य भने ७३ लाख ५० हजारदेखि ८४ लाख रुपैयाँसम्म रहेको छ ।

माथि उल्लेख गरिएका मध्य एमजी एचएस र डिएफएसके ग्लोरी आई–अटो नयाँ मोडल हुन् ।


Back_to_top