काठमाडौं । सबै सानो कार सस्तो हुँदैनन् । धेरैलाई ठूलो कारको मूल्य महंगो भन्ने लाग्छ । नेपाल जस्तो बजारमा त बिक्रेताको विज्ञापन पनि साइजमै अड्केको देखिन्छ ।
मिनी कुपर साइजको आधारमा सानो कार बनाउने कम्पनी हो । बीएमडब्लू ग्रुपको स्वामित्वमा रहेको मिनी कुपर हेर्दा जति आकर्षक छ, त्यति नै भेरियन्ट पनि पाउन सकिन्छ । विश्वका धनाढ्यको ग्यारेजमा बस्न रुचाउने मिनी कुपरको कन्भर्टेवल कार निकै चर्चित छ ।
सानो गाडी भएपनि पर्फमेन्सलाई ध्यानमा राखेर मिनी कुपर कन्भर्टेवल तयार पारिएको छ । यसमा २०४ हर्स पावर प्रदान गर्ने २.० लिटर क्षमताको इन्जिन छ । यसको पीकटर्क पनि ३०० न्यूटन मिटर छ ।
यसमा गाडीको पर्फमेन्स र ड्राइभिङको मज्जा लिन सकियोस् भनेर ७ स्पीड ड्यूल क्लच अटोमेटीक गियरबक्स यसमा प्रयोग भएको छ । केबल ६.९ सेकेन्डमा नै मिनी कुपर कन्भर्टेवल कारले १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ । आजकलका धेरै ईभीभन्दा यो तिब्र गतिमा स्पीड लिन सक्ने कार हो ।
मिनी कुपर एस ह्याचव्याक जस्तै देखिने कन्भर्टेवललाई ब्राण्डको प्रतिस्ठित डिजाइनमा सम्झौंता नगरी तयार पारिएको छ । क्ल्यामलेस बोनट, गोलो आकारमा तयार भएको हेडल्याम्प, मिनीको सिग्नेचर ग्रिल र फ्यूचरस्टिक डिजाइनले धेरैलाई लोभ्याउने छ ।
ड्यासबोर्डको बीचमा दिइएको ९.४ इन्चको ओएलइडी सेन्टर टचस्कृन, एन्ड्रोइडमा आधारित हाइ डेफिनेसन स्क्रिन यसको बलियो पक्ष हो । यसका अलावा प्रिमियम सिट, निकै लग्जरी क्याविन र टेक फिचरको बलियो मिश्रण यसमा पाउन सकिन्छ ।

