काठमाडौं । विगतका वर्षमा सबैभन्दा धेरै कार बिक्री हुने समय दशैं सकियो । दशैंको मुखमा भएको जेन-जी आन्दोलनले पूरै व्यवसाय चौपट भएको व्यवसायीहरू बताउँछन् ।
अघिल्ला वर्षका दशैंमा झण्डै एक हजार गाडी डेलिभरी दिने कम्पनीहरू यस वर्ष २/३ सय पनि गाडी बिक्री गर्न नसक्ने अवस्थामा पुगे । उनिहरूसँग गाडीको उपलब्धता पनि सहज भएन । प्राकृतिक प्रकोपको कारण सडक संजाल बन्द हुँदा चीनबाट आउने गाडी समयमा आउन पाएन ।
जेन-जी आन्दोलनपछि अन्योलग्रस्त अवस्थामा अर्थतन्त्र रहँदा कसैले पनि ठूला गाडी किन्ने निर्णय गर्न सकेनन् । अहिलेसम्म पनि त्यसको असर ज्यूँकात्यूँ देखिएको छ । तर, नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ भएका साना गाडी भने बिस्तारै डेलिभरी भइरहेको देखिन्छ ।
खासगरी बीवाइडी, हुन्डाई, एमजी, टाटा, दीपल, ओमोडा/जेको जस्ता ब्राण्डका गाडी दशैंमा ठिकठाक डेलिभरी भए । तर, उनीहरूको बिक्री पनि अघिल्ला वर्षको दशैंमा हुने जस्तो देखिएन ।

नाइमा र नाडा अटो शोमा भएको बुकिङ, जेन-जी आन्दोलनले उत्पन्न गराएको अवस्था र गाडी बिक्रेता कम्पनीहरूको प्रयासले केही नयाँ गाडीको बिक्री राम्रै भयो । त्यसमा मुख्यतया ६ ब्राण्डका ७ कारले राम्रो बिक्री पाएको अनुमान गर्न सकिन्छ ।
बीवाइडी एटो वान र एटो टु
यस वर्षको दुवै अटो शोमा सर्वाधिक चर्चा कमाउन सफल बीवाइडी एटो वान ह्याचब्याक र एटो टु एसयूभी दशैं सुरू हुनुभन्दा केही घण्टा अगाडि मात्रै नेपाल आएको थियो । ढिलोगरी आएको भए पनि साइमेक्स इंकले दशैंको टिकाको दिनसम्म नै अफिस खोलेर ग्राहकलाई हस्तान्तरण गरेको थियो ।

कम्पनीले एटो वान र एटो टु मिलाएर ५०० भन्दा बढी गाडी ल्याएको भए पनि ठ्याक्कै ग्राहकमा कति हस्तान्तरण भयो भन्ने जानकारी बाहिर ल्याएको छैन । मूल्यका हिसाबले पनि आकर्षक एटो वान र एटो टु बिक्रीमा पनि राम्रो भएको सहजै अनुमान गर्न सकिन्छ ।
हुन्डाई क्रेटा
हुन्डाई क्रेटा नेपालमा पेट्रोल र इलेक्ट्रीक दुवै अप्सनमा उपलब्ध छ । दुवै अप्सनमा उपलब्ध भए पनि दशैंमा पेट्रोल क्रेटा नै बिक्री भएको देखिन्छ । आधिकारिक बिक्रेताले ठ्याक्कै नभने पनि दशैंको मुखमा देशभर करिब ३०० युनिट क्रेटा बिक्री भएको अनुमान गर्न सकिन्छ । त्यसमा ईभी र पेट्रोल दुवै छन् ।

सन् २०१७ देखि बजारमा उपलब्ध हुन्डाई क्रेटा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा निकै बलियो मोडल हो । अहिले पेट्रोल एसयूभी किन्न योजना बनाउनेले सिधै क्रेटा किन्छु भन्ने अवस्था छ । त्यसको फाइदा दशैंको बिक्रीमा पनि भएको देखिन्छ ।
दीपल एस-०५
चांगान अटोमोबाइल ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल एस-०५ नयाँ मोडलको रूपमा बजारमा ल्याएको हो । दीपल एस-०५ थाइल्याण्डमा उत्पादन भएर नेपाल आएको मोडल हो । त्यसैले चीनबाट ईभी आयात हुन नसकेको समयमा पनि दीपल एस-०५ आएको थियो ।
दशैंको आसपास पारेर झण्डै १८० युनिट एस-०५ उपभोक्तालाई हस्तान्तरण गरिएको थियो । कम्पनी स्रोतका अनुसार नेपाल आएको दुई महिनाको अवधिमा २०० युनिट एस-०५ सडकमा गुड्न थालिसकेको छ । मुख्यतया प्रिमियम डिजाइन, उत्कृष्ट पर्फमेन्स र आकर्षक मूल्यको कारण दीपल एस-०५ ले राम्रो बजार पाएको हो । यसको टप भेरियन्ट नै ५४ लाख ९९ हजारमा किन्न पाइन्छ ।
जेको जे फाइभ
मिनी रेन्ज रोभरको नामले बजारमा आउनु अगाडि नै चर्चा पाएको जेको जे फाइभ कोरोला नाका हुँदै नेपाल आएको पहिलो गाडी हो । उच्च ग्राउण्ड क्लियरेन्स, क्लिन बडी डिजाइन र १५५ किलोवाटको पावरफुल मोटर भएको कारण यसले राम्रो बजार पाउन सफल भएको हो ।
दशैं अगाडि १०० युनिट हाराहारी जे फाइभ उपभोक्ताहरूकोमा गएको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जनाएको छ ।

एमजी एस फाइभ
एमजी एस फाइभ बैशाख र जेठको सुरूवातमै ठूलो संख्यामा आएको थियो । त्यसैले नयाँ आयात नभए पनि स्टकबाट राम्रो संख्यामा एस फाइभ बिक्री भएको अनुमान गर्न सकिन्छ ।
सन् २०२५ को मार्चमा लन्चिङ भएको एस फाइभ अहिलेसम्म १ हजार ५० युनिट माथि आयात भइसकेको छ । त्यसैले पनि पारामाउन्ट मोटर्सले बिक्री गर्ने इलेक्ट्रीक एसयूभीले बजारमा राम्रै प्रभाव जमाउन सफल भएको छ ।


