भैरहवा र पोखरा विमानस्थल चलाउन थप उदार, ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ दिइँदै

काठमाडौं । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी एयरलाइन्सहरूलाई एकपछि अर्को सुविधिा दिने तयारी गरेको छ ।

हाल ती दुवै विमानस्थलमा उडान गर्ने एयरलाइन्स कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ, इन्धन शुल्कमा छुट दिँदै आएको छ । अब विमान कम्पनीहरूलाई ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ पनि दिने तयारी गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तयार पारेको ‘राष्ट्रिय हवाई नीति–२०८२’ मा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ दिने प्रस्ताव गरिएको हो । मन्त्रालयले उक्त मस्यौदा छलफलका लागि समेत सार्वजनिक गरेको छ । अहिले नेपालमा हवाई नीति २०६३ कार्यान्वयन छ । नयाँ नीतिले यसलाई विस्थापित गर्ने छ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई फिफ्थ फ्रिडम ट्राफिक राइट्ससहित सेवा संचालन अनुमति प्रदान गर्ने उदार नीति अवलम्बन गरिने छ,’ प्रस्तावित मस्यौदामा भनिएको छ ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख (सहसचिव) मुकेश डंगोलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी एयरलाइन्सहरू आकर्षित गर्न ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ दिने नीति लिइएको उनले बताए । दुवै विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्न एयरलाइन्स कम्पनीलाई थप सुविधा दिने प्रस्ताव गरिएको उनले बताए ।

‘सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थ पूर्ण क्षमतामा संचालनलाई प्राथमिकतामा राखेको छ । अहिले पनि त्यहाँ उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ, इन्धन, टिकटा छुट सुविधा दिइएको छ । अझ आकर्षित गर्न फिफ्थ फ्रिडम ट्राफिक राइट्स दिने नीति बनाइएको हो,’ उनले मेरोअटोसँग भने । यस व्यवस्थाले विदेशी एयरलाइन्स दुवै विमानस्थलमा उडान गर्न आकर्षित हुने उनको विश्वास छ ।

उनका अनुसार यस अधिकार अनुसार कुनै पनि विदेशी एयरलाइन्सले यी विमानस्थलबाट यात्रु बोकेर तेस्रो मुलुकमा लैजान पाउँछन् । यसबाट यात्रुले बढी विकल्प पाउने हुँदा यात्रु र उडान संख्या संख्या थपिने उनको भनाइ छ ।

सरकारले गत साउनमा दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने घोषणा गरेको थियो । तर, अपेक्षित रूपमा विदेशी एयरलाइन्स कम्पनीहरू आकर्षित हुन सकेका छैनन् ।

दुवै विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि उडान समय कटौती गर्दा गत मंसिरमा भैरहवामा ४ वटा विदेशी एयरलाइन्सले नियमित उडान गरेका थिए । तर, २ महिनापछि निरन्तरता दिएनन् । हाल कुनै कम्पनीले उडान गरेका छैनन् । त्यस्तै, संचालनमा आएको २ वर्षमा पोखरामा आधादर्जन चार्टर्ड उडान भएका छन् । नियमित उडान सुरू हुनै सकेको छैन ।

सरकारले दुवै विमानस्थल संचालन गर्न एकपछि अर्को सुविधा दिए पनि भारतले छोटो हवाई रुट अनुमति नदिँदा विदेशी कम्पनीहरू आकर्षि हुन् सकेका छैनन् ।

पोखरा र भैरहवा विमानस्थल निर्माणका लागि झण्डै ४० अर्ब रुपैयाँ खर्च भएको छ । ऋण लिएर बनाइएका यी विमानस्थल पूर्ण संचालनमा नआउँदा विमानस्थलको दैनिक खर्च धान्न समेत मुस्किल भइरहेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन गरिएको थियो । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो ।

एशियाली विकास बैंकको ८ अर्ब ५५ करोड ऋणसहित ३० अर्बको लागतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको थियो । त्यस्तै, पोखरा विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख रुपैयाँ डलर ऋण लिइएको छ ।

के हो ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ ?

फिफ्थ फ्रिडम ट्राफिक राइट्स अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई दिइने एक विशेष सुविधा हो । यसमा कुनै पनि विदेशी एयरलाइन्सले तेस्रो देश हुँदै यात्रु तथा कार्गो बोक्न अनुमति पाउँछन् ।

अर्थात् आफ्नो देशबाट अर्को देश हुँदै तेस्रो देशसम्म उडान भर्न सक्छ । यसक्रममा एयरलाइन्सहरूले दोस्रो देशबाट पनि यात्रु तथा कार्गो लिएर तेस्रो देश जान पाउँछन् ।

उदाहरणका लागि कतार एयरवेजले दोहा-भैरहवा उडान अनुमति पाएको छ । उसले भैरहवा विमानस्थलमा ‘फिफ्थ फ्रिडम ट्राफिक राइट्स’ पाएको छ भने त्यहाँबाट यात्रु र कार्गो लिएर मलेसिया पनि जान पाउँछ । उसले भैरहवाबाट मेलेसियाका लागि पनि टिकट बेच्न पाउँछ ।

यसले यात्रु र उडान दुवै बढाउन सहयोग गर्छ । उडान संख्या थपिने हुँदा यात्रुले सस्तोमा सेवा पाउने, प्रतिस्पर्धा बढाउने र विमानस्थलमा ट्रान्जिट बढाउँछ ।


Back_to_top