‘अटो सांघाई’मा देखाइएका ४ इलेक्ट्रीक एसयूभीले नेपालीको ध्यान खिच्ने

सांघाई । चीनको औद्योगिक नगरी सांघाईमा चलिरहेको २१ औं ‘अटो सांघाई’मा सयौ ब्राण्डले आफ्नो बलियो उपस्थिति देखाएका छन् । यस पटकको अटो शोमा ठूला र प्रिमियम गाडीसँगै उड्ने कारले स्थान पाएको देखिन्छ ।

नेपाली बजारलाई जोडर अटो शोलाई हेर्दा केही ब्राण्डले हाम्रो बजार सुहाउँदो उत्पादन भोलिका दिनमा ल्याउने अनुमान गर्न सकिन्छ । विशेषगरी ठूला र प्रिमियम उत्पादनमा केन्द्रित भएका कार निर्माताले साना गाडी खासै देखाएका छैनन् । त्यसैले नेपाली बजारमा खोजी मूल्य र डिजाइनका कार खासै देख्न सकिदैन ।

नेपालमा विद्युतीय कार बिक्री गर्दै आएका अधिकांश ब्राण्डले चर्चा योग्य उत्पादन देखाएका छैनन् । अझ भनौं नयाँ र वाउ लाग्ने उत्पादन देखाएका छैनन् । बीवाइडी, दीपल जस्ता ब्राण्डले यसपटक हाम्रो बजार सुहाउँदो उत्पादन देखाएनन् ।

ओमोडा-जेको र एमजीको स्टलमा भने बजारलाई फरक पार्ने मोडल देख्न सकिन्छ । त्यस्तै, डोङफेङ नामी-०६ नेपालको लागि चर्चा र चासोको मोडल बन्न सक्छ । लीपमोटरको बी-१० मोडल पनि हाम्रो देशको लागि उपयुक्त हुन सक्छ ।

एमजी साइबर एक्स

नेपाली बजारलाई ध्यानमा राखेर अटो शो अबलोकन गर्ने हो भने एमजी साइबर एक्स सबैभन्दा राम्रो मोडल हो । निकै स्टाइलिस बक्सी डिजाइनमा तयार भएको एमजी साइबर एक्सले धेरैको ध्यान खिच्न सफल भएको देखिन्छ ।

ल्याण्ड रोभर डिफेन्डरको जस्तो बनोटमा तयार भएको साइबर एक्समा दिइएको पप-हेडलाइट निकै चर्चाको विषय बनेको थियो । यसपटक सांघाई अटो शोमा बजेट कारको बीचमा सबैभन्दा धेरै चर्चा गरिएको मोडल पनि सायद यही हो । यसको टेक्नीकल डिटेलको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

जेको जे-५ र आईकार भी-२३

तत्कालै नेपाली बजारमा आउन सक्ने र अटो शोमा देखाइएको जेको जे-५ र आईकार भीः २३ निकै चर्चा भएको मोडल हो । चेरी अटोमोवाइल ग्रुप अन्तर्गतको यी दुबै मोडल जेको ब्राण्डमै नेपाल आउने छन् । चेरी ग्रुपले एक दर्जन बढी नयाँ कार मोडल देखाएर अटो शोलाई भब्य बनाउने कोसिस गरेको देखिन्थ्यो ।

डोङफेङ नामी-६

नेपालमा नामीको चर्चा खुबै भएको समयमा कम्पनीले देखाएको नामी-६ पनि हाम्रो लागि उपयुक्त मोडल हुनसक्छ । एसयूभी डिजाइन र ४.३ मिटर लम्बाइ रहेको नामी-६ मोर्डन लाइटहरुले उपलब्ध मोडल हो । कम्पनीले यसको पनि टेक्नीकल डिटेल भने बाहिर ल्याएको छैन ।

लीपमोटर बी-१०

अटो शो अगाडि नै चीनमा बिक्री सुरु भएको एसयूभी हो । यसलाई नेपालमा हुने आगामी अटो शोमा प्रदर्शन गर्ने तयारी आधिकारीक बिक्रेताले गरिरहेको छ ।


Back_to_top